
काठमाडौं । प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालको पहलमा कञ्चनपुरको निर्माणाधीन मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइबारे आज उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले हिजो प्रतिनिधिसभाको बैठकमा मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग छलफल आयोजना गर्नुभएको हो।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र मिश्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुकेश डंगोल, उपनिर्देशक प्रेमनाथ ठाकुर तथा मझगाउँ विमानस्थल आयोजना प्रमुख मिनराज ओझा लगायत सरोकारवाला अधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा विमानस्थल निर्माणमा देखिएका समस्या, विशेषगरी वन क्षेत्र, जग्गा व्यवस्थापन तथा अन्तरनिकाय समन्वयसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो। सभामुख अर्यालले निर्माणमा देखिएका अवरोध तत्काल समाधान गरी विमानस्थल निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ।
सांसद महताले आजको छलफल उपलब्धिमूलक भएको उल्लेख गर्दै मझगाउँ विमानस्थल निर्माणलाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने दिशामा महत्वपूर्ण प्रगति भएको विश्वास व्यक्त गर्नुभयो। उहाँले विषयलाई प्राथमिकताका साथ उठाएर आवश्यक समन्वय र निर्देशन दिनुभएकोमा सम्माननीय सभामुख डोलप्रसाद अर्यालप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

