
काठमाडौं । असार ३१ प्रतिनिधिसभाको बैठकमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिंह महताले मझगाउँ विमानस्थलको पुनर्निर्माण कार्यमा भइरहेको ढिलाइप्रतिआज बसेकाे प्रतिनिधि सभाकाे बैठकमा शून्य समयमा बाेल्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सांसद महताले वि.सं. २०२३ मा स्थापना भएको कञ्चनपुरको मझगाउँ विमानस्थल २०५६ सालमा सशस्त्र द्वन्द्वका कारण बन्द भएको स्मरण गराउँदै स्थानीय नागरिकको निरन्तर पहलपछि २०७७ फागुन ३ गते संघ, प्रदेश र स्थानीय सरकारबीच पुनर्निर्माणका लागि सम्झौता भएको बताए।
उनका अनुसार करिब रु. ५१ करोड ५० लाखको लागतमा १,५२५ मिटर धावनमार्ग निर्माण सुरु गरिएकोमा हालसम्म १,४५० मिटर निर्माण सम्पन्न भए पनि मन्त्रालयको उदासीनता तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जसंगकाे जग्गा विवाद समाधानमा भएको ढिलाइका कारण निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ। यसले राज्यको ठूलो लगानी नै जोखिममा पर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
सांसद महताले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीय नागरिकले आवश्यक पहलको माग गर्दै आफूहरूलाई ध्यानाकर्षण पत्र पठाउन थालेको उल्लेख गरे। उनले, “सम्बन्धित मन्त्रालयलाई आफ्नै विमानस्थल सञ्चालनमा ल्याउन नागरिकले दबाब दिनुपर्ने अवस्था आउनु दुःखद र विडम्बनापूर्ण हो,” भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले जग्गा विवादको तत्काल समाधान, विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय तथा नियमित अनुगमनमार्फत मझगाउँ विमानस्थलको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

