कञ्चनपुर पौष २३ ,कञ्चनपुरको भीमदत्तनगरसहित देशका सात स्थानमा वायु गुणस्तर मापन केन्द्र थप गरिने भएको छ। वातावरण विभागले देशका ठूला शहर भीमदत्तनगर, धनगढी, चितवन, विराटनगर, जनकपुर, रारा र हेटौँडामा वायु गुणस्तर मापन केन्द्र थप गर्न लागेको हो।

यसअघि देशभर १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी वायुको गुणस्तर मापन गरिँदै आएको छ। चालु आवभित्रै वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको छ।

वातावरण विभागका मेकानिकल इन्जिनियर विजय अधिकारीले केन्द्र स्थापनाका लागि स्थान छनोट गरी बोलपत्र आह्वान भइसकेको बताए। उनका अनुसार प्रत्येक केन्द्र निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितको उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिने छन्। ’डिस्पले बोर्डमा वायुको गुणस्तर बारेको देश भरीको अपडेट देखिने छ’ उनले भने, ‘सुदूरपश्चिमका कञ्चनपुरको भीमदत्तनगरको बस पार्क, कैलालीको अत्तरीया चौराह, धनगढी चौराह र डोटीको दिपायलमा डिस्पले बोर्ड राखिने छन्।’

बोर्डमा वातावरणसम्बन्धी सम्पूर्ण जानकारी दिइने व्यवस्था गरिने उनको भनाइ छ। यसैगरी, वातावरण विभागले स्थानीय तहसँग सहकार्य गरी साझेदारीमा उद्यान निर्माणसमेत गर्ने भएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र कैलालीको चुहा नगरपालिकामा गरी तीनवटा उद्यान निर्माण हुने भएका हुन्। जसका लागि नगरपालिकासँग सम्झौता गरिएको छ।

उद्यान निर्माणका लागि ६० प्रतिशत विभागले र ४० प्रतिशशत रकम स्थानीय तहले व्यहोर्ने छन। डडेल्धुराको भागेश्वर गाँउपालिका र अछामको साफेवगरमा वातावरण अनुकूलित गाँउ (क्लाइमेट स्मार्ट भिलेज) स्थापना गरिएका छन्।

जसका लागि सिँचाइ पोखरी निर्माण, प्राकृतिक पानीको मुहान संरक्षण र प्राकृतिक गोठ निर्माण लगायतका कार्य अगाडि बढाइएका छन्।

प्रतिक्रिया दिनुस