काठमाडौँ पौष २५ , स्ववियु चुनावको मिति तोकिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ । निर्वाचन मिति तोकेर त्रिवि मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिएका छन  ।
‘ त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ । कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।

गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन ।
गत वर्ष पनि फागुनमै निर्वाचन गर्ने गरी देशभरका क्याम्पसलाई तयारी थाल्न त्रिविले निर्देशन दिएको थियो । तर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले तत्काल निर्वाचन नगर्न आग्रह गरेपछि मिति नै घोषणा हुन सकेन । निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । कान्तिपुर बाट

प्रतिक्रिया दिनुस