काठमाडौं माघ १२, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा सांसद अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन। आइतवार प्रतिनिधसभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
बैठकको सुरुमै बैठकको अध्यक्षता गरिरहेका ठाकुरले एकल उम्मेदवारी परेको सापकोटाको नाम प्रस्ताव र समर्थन गर्न समय दिएका थिए।
त्यसपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गरे। नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सभामुखका लागि सापकोटाको नाममा समर्थन जनाए। कर्णपछि नेकपाकी सांसद ओनसरी घर्तीले सापकोटाको नाममा समर्थन जनाएकी छन्।
प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण थिए। यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो। त्यस दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिइन्।
सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए। हाल महरा पुर्पक्षका लागि थुनामा रहेका छन।

प्रतिक्रिया दिनुस