काँकडभिट्टा,माघ १६ ,क्रान्तिकारी माओवादीले शुरु गरेको चारमहिने पार्टीको राष्ट्रिय स्वाधीनताको अभियान उद्घाटन गर्दै नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले चीनलाई घेरा हाल्न एमसीसीसहित अमेरिका नेपाल आएको चर्चा गर्दै एमसीसी संसदबाट पास भए नेपाल रणभूमिमा परिणत हुने बताएका छन् ।
कार्यक्रमका प्रमुख वक्ताको रुपमा बोल्दै प्रवक्ता कँडेलले राष्ट्रिय स्वाधीनताको रक्षाको लागि नै नेकपा क्रान्तिकारी माओवादी पार्टीले देशव्यापी अभियान सञ्चालन गरेको बताउनुभयो ।
१ र २ नं. प्रदेशमा सञ्चालित हुने अभियानको झापाको काँकडभिट्टामा भएको उद्घाटन कार्यक्रममा पार्टी पीवीएम रमेश, मिनकुमार, अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव, दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अमर परियार नेताहरुले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रदेश पार्टी सचिव रत्न गुरागाईको अध्यक्षता र केस मोहन तामाङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा झापाका इन्चार्ज समेत रहेका पार्टी केस विमलले स्वागत गरेका थिए । कार्यक्रममा केसहरु मनोज श्रेष्ठ, मोहन लिम्बू, डिल्लिराम बोहरा, मोहन तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।