कञ्चनपुर माघ २४ ,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका–७, चाँदनी दोधरामा सुख्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन् ।

मन्त्रालयको प्राविधिक टोलीसहित कञ्चनपुर आइपुगेका मन्त्री भट्टले बिहीबार शुक्लाफाँटा नगरपालिका–७, स्टेशनपुरको धर्म जनता माध्यमिक विद्यालयमा १२औँ राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै सुख्खा बन्दरगाहको काम छिट्टै सुरु गरिने बताएका हुन् ।

मन्त्री भट्टले नेपाल–भारत कनेन्टिभिटीका लागि भारतीय अधिकारीहरूसँग छलफल भइरहेको पनि जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीसँग सिधा जोड्ने पश्चिम नेपालकै सबैभन्दा छोटो दुरीमा रहेको नाका सञ्चालनमा आउन नसक्दा नेपालको समृद्धि र विकासले तीव्रता नपाएको मन्त्री भट्टको भनाइ छ ।

२०६८ मा वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा भट्टले नै चाँदनी दोधरामा सुख्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेका थिए । तर सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अझै पनि अगाडि बढेको छैन । भट्ट उद्योगमन्त्री भएकाले यसपटक भने सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अगाडि बढ्ने सुदूरपश्चिमका स्थानीयले अपेक्षा गरेका छन् । सुख्खा बन्दरगाह निर्माणसँगै त्रिदेशीय नाकाका लागि सुख्खा बन्दरगाह, महाकालीमा पुल र कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली करिडोर निर्माण गरेर दार्चुलामा त्रिदेशीय नाका विस्तार गर्ने परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुस