पर्वत, १, फागुन , जनयुद्व दिवस आयोजक समितिको आयोजनामा पर्वतमा शुभकामना आदान प्रदान गरी २५ औं जनयुद्व दिवस मनाइएको छ । २५ औं जनयुद्व दिवस तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले नेपाली माटोमा सञ्चालित जनयुद्वको लक्ष्य र उद्वेश्य ठीक भएपनि १२ बुंदे सम्झौतापछिको परिणाम जनयुद्वको मर्म विपरित भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका ईन्र्चाज तेजेन्द्र प्रसाद पौडेलले नेपालमा सञ्चालित जनयुद्वले परिर्वतन ल्याएको तर जनयुद्वको नेतृत्वले धोका दिएका कारण मुलुकको परिवर्तित आन्दोलनलाई विर्सजनमा पुर्याएको बताए ।

पौडेलले मालेमावादी सिद्धान्तलाई अंगिकार गर्ने क्रान्तिकारी शक्तिले बुलेट या व्यालेटबाट सत्ता स्थापना गर्ने र उक्त सत्ता सर्वहारा वर्गको पक्षमा हुने बताउँदै जनयुद्वको नेतृत्व गरेको व्यक्ति नै धनयुद्वको प्रलोभनमा परेपछि जनयुद्वको उपलब्धी हासिल गर्न कठिनाई भएको बताए ।

उनले नेपालमा जनयुद्वको जगमा जनविद्रोह अपरिहार्य रहेको बताउँदै भने ‘राष्ट्रियताप्रति धावा बोलिरहेको लिपुलेक, कालापानी प्रकरण र एमसीसी प्रकरणमा संसदमा अनुमोदन गर्ने सत्ताधारी नक्कली कम्युनिष्टलाई नेपाली जनताको बलमा पत्तासाफ गर्न जरुरी रहेको छ ।’

कार्यक्रममा बोल्दै नेकपा मालेका केन्द्रिय सदस्य एवं कार्यक्रमका अध्यक्ष यम विकले जनयुद्व दिवस बामपन्थीहरुको साझा दिवसको रुपमा अगाडी बढेको बताए ।

विकले नेपालमा सञ्चालित जनयुद्व परिवर्तन चाहानेहरुको पक्षमा रहेको उल्लेख गर्दै १२ बुंदे सम्झौताले जनयुद्वको दुरुपयोगका साथै जनयुद्वमा सहभागी वर्गिय, जातिय, उत्पीडित, लैङ्गिक समुदायको अपेक्षामाथि कुठाराघात भएको बताए ।

विकले महाकाली सन्धी र एमसीसी मिल्दोजुल्दो भएकोले यो राष्ट्रको पक्षमा नभएको उल्लेख गर्दै देशको अस्तित्वमाथि धावा बोल्दै एमसीसी सम्झौता संसदबाट अनुमोदन भए यसले देशको राष्ट्रियतामाथि नै खतरा उत्पन्न हुने भन्दै कथमकदाचित एमसीसी पारित भए राष्ट्रवादी शक्तिहरु एकजुट भई आन्दोलनमा जानुपर्ने बताए ।

२५ औं जनयुद्व दिवसमा बोल्दै समाजवादी पार्टी पर्वतका अध्यक्ष याम बहादुर चोचाङ्गी पुन ‘नविन’ ले जनयुद्वलाई कम्युनिष्टहरुले दुरगतिमा सिमित तुल्याएको बताए ।

पुनले जनयुद्वको लक्ष्य र उद्वेश्य अनुसार अगाडी बढ्दै मुलुकलाई नयाँ गति दिन र जनयुद्वबाट अधुरो रहेको सामाजिक न्याय र समृद्धिको एजेण्डा पुरा गर्न समाजवादी पार्टीको गठन भएको बताउँदै भने ‘समाजवादी पार्टी समाजवादी काँग्रेस र कम्युनिष्टको विरुद्धमा भन्दापनि सामाजिक न्याय र समृद्धिको बाटोमा अगाडी बढेको छ ।’

कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य यम कार्कीले क्रान्तिकारी शक्तिहरु फुटेर नभई जुटेर जनयुद्वको अधुरा सपना पुरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला पर्वत वार ईकाइका सचिव एवं अधिवक्ता यज्ञ बहादुर थापाले जनयुद्वलाई व्यक्तिगत र पारिवारिक युद्वमा परिणत गर्दै जनयुद्व सञ्चालन गरेको मुख्य नेतृत्वले जनयुद्वको मर्म विपरित परिवार र नातागोतालाई मुख्य मुख्यमा पदमा नियुक्ति गर्दै आफ्नो अभिसप्त पुरा गरेको बताए ।

थापाले भारतमा महात्मा गान्धीले थालेको आन्दोलनमा जनताले साथ दिएको, चीनमा माओ र रुसमा लेनिनले शुरु गरेको जनयुद्वमा आम जनताले साथ दिएको तर नेपालमा नेतृत्वले दिएको धोकाले राष्ट्रवादी समेत जनयुद्वको विपक्षमा उभिने वातावरण सिर्जना गरेको भन्दै नेपालको वर्गिय मुक्ति आन्दोलनलाई अगाडी बढाउन नयाँ तरिकाको आन्दोलनको सुरुवात गर्नुपर्ने बताए ।

कार्यक्रममा जनयुद्वका क्रममा चार बर्ष जेल जीवन विताएका क्षेत्र रेग्मी ‘किसान’ले नेपालको वस्तुगत परिवेशसँग सञ्चालित जनयुद्व लक्ष्यमा पुग्न नसकेको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले मानेको जनयुद्वको वास्तविक उपलब्धीमा नेतृत्वले धोका दिएको बताए ।

रेग्मीले नेपालमा राजनैतिक आन्दोलन मात्रै भएको तर राजनीतिक क्रान्ति नसकिएकोले कम्युनिष्टहरुले देखाएको सपना पुरा गर्नका लागि नेपाली जनताको चाहाना अनुसार क्रान्तिकारी शक्ति अगाडी बढ्नुपर्ने बताए ।

२५ औं जनयुद्व दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन पत्रकार गोपाल जिसीले गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुले मैन बत्तिबालेर एकैसाथ कार्यक्रमको उद्घाटन गरेका थिए । नव दुष्टि बाट

प्रतिक्रिया दिनुस