पैलाद राना ,कञ्चनपुर बैशाख ११ ।कञ्चनपुरको महाकाली अस्पतालमा आईसोलेशन भवन निमार्णका लागि गुणस्तहिन ईटा प्रयोग भईरहेको पाईएको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालमा एक करोड लागतमा ५० सैयाको आईसोलेशन भवन निर्माण गर्न लागेको छ ।

आईसोलेशन भवन निर्माणका लागि दिपिन विल्डर्स प्रालिले ठेक्का पाएको थियो । ७ बैशाख महाकाली अस्पताल र कम्पनीविच भवन निर्माणका लागि सम्झौता भएको थियो । कुल ९२ लाख, ४३ हजार ५ सयमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुरुप निर्माणन कम्पनीले ८बैशाखदेखि नै निर्माणको काम शुरु गरेको छ । तर, आईसोलेशन भवन निर्माणमा गुणस्तहिन द्वयम ईटा प्रयोग भएका छन् ।

भवनकै मुल जगमा अब्बल ईटा प्रयोग हुनुपर्नेमा द्वयम ईटा प्रयोग भएर भवन निर्माण भएपछि अस्पताल प्रशासन र व्यवस्थापन समितिले उक्त ईटा प्रयोग नगर्न निर्माण कम्पनीसंग भनेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सम्झौता भएको दोस्रो दिनदेखि नै निर्माण कम्पनीले द्वयमईटा प्रयोग गरिरहेको बताए ।‘अस्पताल जस्तो सम्वेदनशील भवनमा गुणस्तहिन ईटा प्रयोग बारे मैले ठेकेदारसंग पटक पटक फेर्न भनेको छु, ‘अध्यक्ष जोशीले भने, ‘बिहीबार त काम नै रोक्नुहोस भने, ईटा फेर्छु भनेको छ ।’ दिपिन विल्डर्स प्रालिका संचालक दिपिन कार्कीले लकडाउनको समयमा राती ल्याईएका २५ हजार ईटा मध्ये एक दुई हजार ईटाद्वयम परेको बताए ।

‘हामी राति ईटा ल्याएका हौँ, ‘उनले भने, ‘केही ईटा द्वयम परेछन्, यस्तो ईटा मैले भवनमा प्रयोग गर्दैन ।’ अब्बल ईटाको रकम भुक्तान गरेर मैले द्वयम ईटा पाउनु आफ्नै लागि घाटा भएको बताउदै उनले ईटा फेर्ने बताए । उनले नेपालमा ईटाको गुणस्तर नापन गर्ने कुनैपनि निकाय नभएकाले ईटा बारे केही व्यक्ति, मिडियाले कुन ईन्टेशन लिएको बारे जिज्ञासा राखे ।

निर्माण कम्पनीले काम गर्दा केही समस्या देखिएकाले त्यसलाई अन्यथा लिन नहुने जनाएको छ । समाजिक कार्य भएकाले सबैले सकारात्मक सोचका साथ अघि बढेनुपर्ने बताए । ७ बैशाखदेखि ७जेठसम्म एक महिनाभित्रै भवन निर्माण गरिसक्नुपर्ने भएका कारणले अस्पतालको व्यवस्थापन समिति र प्रशासनले काममा भने कुनै अवरोध नगर्ने र निर्माण कम्पनीसंग समयमै काम गर्नका लागि तोकेता गर्ने जनाएका छन् ।

भेन्टिलेटर खरिदमा आपूर्तिकर्ता आरजी कम्पनीले बदमासी गरेर पुराना र खियिएका समान दिएपछिको प्रकरण सेलाउन नपाउँदै आईसोलेशन भवनमा द्वयत ईटा प्रयोग भएपछि महाकाली अस्पतालमा अर्को चर्चा चलेको छ ।

स्थानीय एव सरोकारवालाले कोरोना जस्तो महामारीबाट बाँच्नका लागि आईसोलेशन भवन निर्माणमा भएको ठेक्का सत प्रतिशतमा सदर भएपनि निर्माणमा द्वयत ईटा प्रयोग गर्नु निन्दनिय भएको टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेन्टिलेटर खरिद प्रकृयामा पुरै कागजात नियन्त्रणमा लिएपछि महाकाली अस्पतालमा भेन्टिलेटर खरिदका लागि जिम्मा पाएको आर। जी सप्लायर्स कम्पनीसंगको प्रकृया रद्द नयाँ प्रकृया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुस