रामकुमार श्रेष्ठ , बैशाख १४ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण पूर्वी नवलपरासीमा रहेको ९ वटा इट्टा उद्योगहरुमा ५ सय बढी भारतीय मजदुरहरु अलपत्र परेका छन् ।इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमका अनुसार लकडाउनका कारण कच्चा पदार्थ कोइलाको अभाव भए पछि नवलपुरका इट्टा उद्योगहरुमा अहिले उत्पादन बन्द रहेको छ ।उत्पादन बन्द भएसँग नेपाल भित्र घर भएका मदजुर तथा अन्य कर्मचारीहरु आआफ्नो घर गएको भए पनि भारतमा घर भएका मजदुरहरु घर पठाउन नपाएको उनले बताए ।

नवलपुरमा मातामनकामना इट्टा उद्योग देवचुली १ केउरानी, नारायणी इट्टा उद्योग देवचुली १६, पशुपति इट्टा उद्योग देवचुली २, केसी इट्टा उद्योग कावासोती १०, नेपाल इट्टा उद्योग कावासोती ९, देवचुली इट्टा उद्योग ढोकी, कावासोती इट्टा उद्योग कावासोती, हेगौली, मनोकामना इट्टा उद्योग मध्यविन्दुर मदनपुर, र तावा इट्टा उद्योग, मध्यविन्दु मदनपुर गरी ९ वटा इट्टा उद्योग रहेका छन् ।

ति उद्योगहरुमा कतै ५÷७ जना त कतै दुई सय गरी पाँच सय बढी मजदुहरु अलपत्र परेको र ति मजदुरहरुलाई गत एक महिनादेखि इट्टा उद्योगकै सञ्चालकहरुले पालन पोषण गरेर राखेको इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमले बताए ।लकडाउनका कारण ति मजदुरहरु अहिले इट्टा उद्योग भित्रै सुरक्षित रुपमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् तथापि कतिपय इट्टा उद्योगहरुमा १ सयदेखि २ सयसम्म मजदुरहरु रहेका कारण उनीहरु सामाजिक दुरी कायम नगरी एक अर्कासँग गफ गर्ने खेल्ने, रमाइलो गरेर दिन काट्ने गरेका छन् । जसले गर्दा कोरोनाको संक्रमणको खतरा बढेको छ ।

काम पनि नभएको साहूकै पैसाबाट खान परेका कारण उनीहरु यहाँ बस्न भन्दा घर जान रुचाएको बताउने गरेका छन् ।नवलपुरका इट्टा उद्योगहरुमा भारतको उत्तर प्रदेश, विहार प्रदेश लगायतका क्षेत्रका भारतीय मजदुरहरु बढी रहेको छन् ।ति मजदुरहरुले आफूहरुलाई खान बस्न भन्दा पनि घर जान पाए र घरपरिवारसँग बस्न पाए हुन्थ्यो भन्ने चाहाना बढी रहेको बताएका छन् ।

नेपाल भारत सीमा क्षेत्र नजिकै घर भएका कतिपय भारतीय मजदुरहरु लकडाउन भए लगतै साइकल र पैदलमै घर गएको भए पनि अहिले यहाँ रहेको मजदुरहरुको घर पुग्न नेपाल भारत सीमाबाट पनि ३ सय देखि ७ सय किलोमिटर पैदल दुरी पार गर्नु पर्ने भएका कारण घर जान नसकेर यही रोकिएका हुन् ।ति मजदुरहरुले नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर आफूहरुलाई सुरक्षित रुपमा घर पठाउनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुस