दार्चुला, बैशाख १८ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा भारतको पिथौरागढ जिल्ला दार्चुला नाका ननिकै धार्चुलाको क्वारेन्टाइनमा एक महिनादेखि रहेका नेपाली मजदुरको बिहिबार बिहानबाट उद्धार सुरु भएको छ। क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका भारतमा मजदुरी गरेर र्फकेका धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले निर्णय गरेपछि आज बिहानदेखि उद्धार सुरु भएको हो।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका थिए। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुलापुगेका छन्।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन्। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमति भएको हो। उनीहरुकोबिहिबार बिहान साढे ८ बजेदेखि उद्धार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो।

धार्चुलामा १० जिल्ला नागरिक धार्चुलाको क्वारेन्टाइनमा बसेका छन्। बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराउन थालिएको छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिईएको प्रजिज पौडेलले बताए।

उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउनका लागि यातायात व्यवसायी हरुले सवारी साधनलाई तयारी अवस्थामा राखेको स्थानिय प्रेम निरौलाले जानकारी दिनुभयो । धार्चुलाको क्वारेन्टाइनमारहेका नेपाली मजदुरहरुलाइ नेपाल आउन प्रवेस अनुमति दिए पनि कञ्चनपुर नाका र कैलाली नाका भएर आउने नेपाली हरुले अनुमति पाएका छैनन् । चम्पावत जिल्लाको खटिमा र टनकपुरको क्वारेन्टाइनमा ५०० भन्दा बढी नेपाल मजदुर रहेका छन ।

प्रतिक्रिया दिनुस