महेश भट्ट ,बैतडी  ,सिङ्गो विश्व कोरोना संग लड्न एक आपसमा सहकार्य गर्दै, एकअर्को राष्ट्रप्रति समबेदना, साहानुभुती र सहायतामा जुटेको बेला भारतले लिपुलेकमा एकतर्फी रुपमा उट्घाटन गरी सडक खन्ने कार्यको जुन प्रारम्भ गरेको छ । भारतको नेपाल माथिको कुदृष्टिले विश्व जगत एक पटक फेरी हसाएको छ । यो कदापी पनि सह्य हुदैन ।

मानव जाति रहने की नरहने यस्तो विषम परिस्थिति विश्व जगत हायलकायल भएको बेला नेपालको माटो माथिको हस्तक्षेपले स्वाधिनता माथि प्रहार गरेको छ । यो अति निकृष्ट र घिनलाग्दा हर्कत गरेको छ । यसको यत्रतत्र सर्वत्र विरोध छ ।

प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ । राष्ट्रको रक्षा गर्न सवैमा मनोबल बढाउनु पर्ने बेला आएकोछ । खोक्रोराष्ट्रबादलाई त्यागेर सक्कली राष्ट्रियताको निम्ति नेपाली जनताका लागि फेरी सोचनीय विषय बनेको छ ।

नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको स्थापना एवं संरक्षण, स्वाभिमानको रक्षा गर्नका निम्ति पानीनखाई, भोकभोकै, रातभरि लड्ेका स्वाभिमानका धरोहर वीर पुरुषहरुले गरेको सङ्घर्षका लागि स्मरण गर्ने बेला आएको छ । उहाँहरुका प्रति हार्दिक श्रद्धासुमन, नमन र स्मरण गर्दछु ।

विश्व इतिहासमा वीर गोर्खालीको नाम निसान नमेटिने गरी इतिहास कोरिएको छ । राष्ट्रिय स्वाभिमान र राष्ट्रियताका निम्ति आफ्नो ज्यानको आहुति दिने विर महापुरुषहरुले राष्ट्रियताको भावना, भुगोल र माटोलाई कहिले पनि गलत सम्झौंता गरेनन् ।

रचनाकार माधवप्रसाद घिमिरेले भने जस्तै
“नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे ।।

तराईलाई सुनको टुक्रा, हिमाललाई हिरा, माटो र पानी धर्तीका छोराको पहिलो धन भनेर नेपालको भावनात्मक रुपमा संगित गुञ्जयमान गर्नु भएको छ । उहाँको यो भावनामा अत्यन्तै गहिरो नेपालीपन भेटिन्छ । यहि भावना र राष्ट्रप्रेम सरकार बागडोर समालिरहेका राजनेता संग हुनुपर्दछ ।

रहुँला कहाँ, नेपालै नरहे भने जस्तै आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि कालापानी र लिपुलेक आफ्नो नक्सामा गाभेर नेपालको राष्ट्रिय भुगोल र माटो माथि प्रहार गरेको छ । पटक–पटक गरी नेपालको सिमा अतिक्रमण र भुमि मिच्ने काम भारत पक्षबाट हुँदै आएको छ ।

नेपालको जल, जमिन र जंगल माथि सधैं गिद्दे नजर लगाउने भारत नेपालको परम मित्र हो भन्नु कति सान्दर्भिक हुन सक्छ । कहिले नाकाबन्दीले नेपालीलाई पिरोल्यो, कहिले माहाकालीको पानी सुकायो, कहिलो महाकाली नदिका भारततर्फ तर्फका ढोका बन्द गरेर नेपालको भूमि बगायो । यति मात्र होइन नेपाल र भारतको सिमा छुट्टयाउने ८ हजार ५ सय ५३ सिमास्तम्भ मध्ये एक हजार पाँच सय सिमास्तम्भ हराएका छन् । यसमा पनि बैज्ञानिक रुपमा नापी गर्न सकिएन भने सिमा घटबढ हुने सम्भावना रहिआएको छ । सधैं भाषणमा रोटी र बेटीको सम्बन्ध छ भन्दै “ब्लेक मेल” गरिरहने भारत मित्र राष्ट्र नभएर, शत्रु राष्ट्र नै हो कि पनिलाग्छ । यस्तो संकटमा गरिएका यी निकृष्ट हर्कतले यही प्रमाणित गर्दछ ।

एकसमय नेकपा (एमाले) पार्टीका अध्यक्ष खडक प्रसाद ओली राष्ट्रियताको भजन गाएर मेची, महाकाली अभियानमा निकै उत्तेजित देखिन्थे ।पार्टीको सस्तो लोकप्रियताका मुख्य एजेण्डा बनाएर पर्चा, पम्पलेट र भाषणमा उद्यत देखिन्थे । जनतालाई भुलभैलयामा राख्नका लागि झुटको खेती गरेर सस्तो लोकप्रियता कमाउन चाहन्थे । आँखिर यो दाउ निर्वाचनका लागि मात्र थियो । त्यसै गरी अहिलेका नेकपा अर्का अध्यक्ष पुष्पकमल दहाल १७ हजार नेपालीको रगतको खोली बगाउँदा सम्म भारतीय विस्तारबाद र अमेरीकी साम्राज्यवादको नारा दिएर सत्ता हत्याउने प्रयास स्वरुप अहिले त्यही सत्ताको रापमा छन् । वि.सं. २०६४ सालको संविधान सभाको निर्वाचन पछि सवै बनेका सरकारमा पुष्पकमल दहालको उपस्थिति रहेको छ । वि.सं.२०६४ देखि वि.सं. २०७७ साल सम्म आइपुग्दा विचका १२÷१३ बर्षको अवधिसम्मराष्ट्रियता जोगाउन गरिएका पहल र उपलब्धीका बारेमा १७ हजार नेपालीको रगतले मुल्यांकन गर्दैछ भन्नु बाहेक कुनै अर्को विकल्प छैन । उनको पनि अन्तिम गनतब्य सत्ताको वरिपरि रहेर राष्ट्रिय ढुकुटी रित्याउने नै थियो । त्यो त देखावटी र झुटको खेती नै थियो । यदि सत्यो हो भने खै त कुटनैतिक सफलता ? परिणाम नै अन्तिम मुल्याकंन हो । जनतालाई सुसाशनको प्रत्याभुति गराउनसम्म सकेनन् । राष्ट्रियताको कुरा त सत्तामा पुग्ने बाहना मात्र थियो ।

केही महिना अगाडि भारतले आफ्नो राजनैतिक नक्सामा लिपुलेक र कालापानी राख्दा ब्यापक विरोध भयो । बीचको अवधिमा सरकारले कुटनैतिकरुपमा यो समस्या समाधान गरी सक्नु पर्दथ्यो । नेपाल सरकार आफ्ना आन्तरिक भागबण्डामा ब्यस्त रहयो । यस्तो संकट भैरहदा पनि गुटगत अंशबण्डा र आन्तरिक पार्टीको शक्ति संघर्षले सरकार ढुलमुल भएको छ । यो लुरे शैलीले न त आफ्ना नागरिकको सुरक्षा हुन्छ न आफ्नो भुगोलको नै । राष्ट्रप्रेमलाई दाउलगाएर नेपालको राष्ट्रिय ढुकुटी रित्याएर, सुसासनको धज्जी उडाउँदै नागरिकलाई बेसाहारा बनाइएको छ ।

देशका सवै राजनीतिक शक्तिहरुसंग समन्वय, सहकार्य गरेर एउटै धागोमा उनेर राष्ट्रियता र कोरोना संक्रमणकाविषयमा सामान धारणा बनाएर अगाडि बढ्ने बेला भएको छ । देशको आन्तरिक कलहलाई टाढा राखेर नेपालका गुमेका भूमि फिर्ता माग्ने, देशका विपक्षमा भएका सन्धि सम्झौंताहरु खारेज गर्न तर्फ नेपालका सवै क्रियासिल राजनीतिक दललाई सहकार्य र समन्वयको बाटोबाट देशको सवै शक्ति भुमि मिच्नेका विरुद्धमा लाग्नु पर्ने बेला भएको छ । तवमात्र राष्ट्रियता जोगिने छ । नत्र भने कायरपनले राष्ट्रियता बच्दैन् ।

कुटनीतिक र राजनीतिक सम्बाद गरेर आफ्ना सवै भुगोलको रक्षा गर्नु पहिलो दायित्व नेपाल सरकारको हो । दुईतिहाइ बहुमतको बलियो सरकार बनेको धेरै समय वितिसकेको छ । प्रतिपक्षमा हुँदा राष्ट्रियताको ढोल पिट्ने अहिलेका प्रधानमन्त्री खडक प्रसाद ओली कुम्भकर्ण सुते झै सुतिरहनुले फेरी भारतले संकटको मौका छोपेर अतिक्रमण सुरु गरेको छ ।

सवै नेपाली जनजनले कोरोनाबाट त बच्न जरुरी छ साथसाथै राष्ट्रियता जोगाउन पुर्खाले गरेको त्यो लडाई फेरी हामीले पुरा गर्ने बेला आएको छ । सवै जाग्नुपर्छ । सवै उठ्नु पर्छ ?कोरोना कहर र भारतको दादागिरीबाट नेपालले छिट्टै उन्मुक्ति पाओस् ।
जय जय गोरख, जय जय काली, जय कालापानी, जय लिपुलेक, नेपाल आमाको जय ! जय !! जय !!!

प्रतिक्रिया दिनुस