मनोज्ञ विष्ट ,धनगडी , आजभोलि मलाई खेल्न नपाएर छटपटी भईरहन्छ । म यहाँ धनगढी आएपछि साँझतिर सधैँ खेल्ने बानी परिसकेको थिएँ । हुन त काठमाडौंमा पनि खेल्ने गर्थेँ, तर त्यहाँको आँगन नै सानो । लकडाउन भएपछि खेल्न पाएको छैन । आजभोलि कौशीबाट बाहिर हेर्दा साथीहरु पनि आफ्नै घरमा यताउता गरिरहेको देख्छु । शुरुताका हामीलाई कोरोना भाइरसबारे केही थाहा थिएन । लकडाउन हुनुभन्दा केही दिन अगाडि देखि नै हाम्रो खेल्ने काम रोकिएको थियो । घर आँगनमा समूहमा खेल्दा संक्रमण हुन्छ भनेर बुवाले रोक लगाउनु भएको थियो । लकडाउन अघिसम्म नै पनि हामी लुकी लुकी खेल्ने गरेकै थियौँ । लकडाउन पछि त मैले पनि आँगनमा नजाँदा केही दिनसम्म साथीहरु गेटसम्म आउने र मलाई हातले ईशारा गरेर ‘आऊ आऊ ! केही हुँदैन! भन्ने गर्थे । तर म जाँदैनथेँ । भित्र मनबाट खेल्ने मन गर्थेँ तर जाने आँट आएको थिएन । कस्तो बदमाश होला यो कोरोना, भनेर मनमनमा लागिरहन्छ ।
यो विश्व महामारीको रुपमा देखिएको कोरोना भाइरस नभएको भए यी दिनहरु मेरा खुशी खुशीले बितिरहेका हुने थिए । म घुम्न डुल्न पाइरहेको हुने थिएँ । अझ सानिमाले यसपाली छुट्टीमा पोखरा घुम्न जाने कुरा गर्नु भएको थियो । म पनि उत्साही थिएँ । हुन पनि हामी काठमाडौंमा लामो बसाई भएर पनि पोखरा घुम्न पाएका थिएनौँ ।
काठमाडौंबाट धनगढी आएको २०७५ चैत्रमा नै हो । त्यतिबेला परीक्षा दिएर गाउँको घर दार्चुला, गोकुलेश्वर जान काठमाडौंबाट आएका थियौँ ।
काठमाडौंबाट आउँदा मेरो मनमा लागिरहेको थियो कि अब गाउँबाट फर्केपछि ठूलो चौर भएको एस.ओ.एस. हर्मन माइनर स्कुल सानोठिमीमा पढ्न पाउँछु । कत्ति मज्जा हुन्छ । मैले निष्ट ९ल्क्ष्क्त्० स्कुलबाट कक्षा ५ मा उच्च नतिजा ९ब्ं० ल्याएर एस.ओ.एस.को कक्षा ६ को प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना भएको थिएँ । तर गाउँमा पुगेको बेला बुवाको सरुवा भक्तपुरबाट धनगढी भयो । अनि हाम्रो परिवार धनगढी बस्ने निर्णय भयो । त्यसपछि म ऐश्वर्य विद्या निकेतन धनगढीमा भर्ना भएर पढ्न थालेँ । कस्तो संयोग! काठमाडौं जानै पाइएन । यतै बसियो । सुरुताका नयाँ विद्यालय, नयाँ वातावरण गाह्रो भयो । सबैभन्दा कठिन त गर्मीको समयमा विहान ४.४५बजे नै विद्यालयको गाडीमा जान तयार हुनुपर्ने । केही समयसम्म निक्कै गाह्रो मानें । अस्ति एक्कासी बुवाले हामी सबैलाई कोठामा बोलाउनुभयो । बुवा, आमा, दिदी र म बसिसकेपछि हामीले सल्लाह ग¥र्यौँ । कोरोना संक्रमणबाट जोगिन अझ १० दिन सम्म उच्च सतर्कता अपनाउने । बुवाले अब बाहिरको कुनै पनि कुरा नल्याउने भनेर सहमति गराउनुभयो । हिजो त तरकारी सिद्धियो । आजदेखि के गर्ने हो थाहा छैन ।
यो लकडाउन पछि हाम्रो दैनिक रुटिन पनि बदलिएको छ । बिहान उठ्ने बित्तिकै एक गिलास तातो पानी खान आमाले कर गर्नुहुन्छ । कुनै पनि खानेकुरा खानु अगाडि साबुन पानीले हात मिचिमिचि धुनुपर्छ । दिनमा दुईपटक तातो पानीमा अदुवा, टिमुर र ल्वाङ पिउनुपर्छ । सुत्नु अगाडि एक गिलास बेसार राखेको दुध पिउनुपर्छ । बेला बेलामा सेनिटाइजर प्रयोग गर्नुपर्छ । टि.भि. र नेट चलाउन भने आजभोलि खुल्ला छ । दिउँसो केही अध्ययन, पेन्टिङ र भित्रको काम गर्ने गरेको छु । परीक्षा दिएर बसेको हुनाले पढाइमा धेरै समय दिनु परेको छैन । राती करिब एक घन्टा महाभारत इपिसोड हेर्ने गरेका छौँ । महाभारत बुवाको चाहना भए पनि हामीलाई पनि रमाइलो लाग्न थालेको छ ।
महाभारतमा हामीलाई उपयोगी केही प्रसंग रोचक छन् । राती अँध्यारोमा भीमले खाइरहँदा अर्जुन पुग्छन् । जिज्ञासु अर्जुनले बलवान भीमलाई सोधे– ‘तपाईँ यो अन्धकारमा कसरी सजिलै खाना मुखमा राख्न सकिरहनु भएको छ ?’ भीमले भने– ‘मुख त आफ्नै स्थानमा त छ नि !’ हातलाई त्यहाँ पुगाउने त हो । हातमा पनि आँखा हुन्छ क्या भाइ ! अभ्यास अर्जुन अभ्यास ! त्यसबाट अर्जुन प्रेरित भएका छन् ।
त्यस्तै अर्कोप्रसंगमा गुरु द्रोणाचार्यले शिक्षा ग्रहण गर्दा शिकारुका दुईटा शत्रु र दुईटा मित्र हुने कुरा बताएका छन् । अल्छी र निद्रा दुइटा ठूला शत्रु हुन्, यिनलाई त्याग गर्न सक्नुपर्छ एवं परिश्रम र सावधानी सिकारुका दुई महान मित्र हुन् । परिश्रम र सावधानी पनाउन सक्ने सिकारु ीभबचलभचक सधैँ अजेय अर्थात् विजेता हुन्छन् ।
अर्को प्रसंगमा त्यति बेलाको धर्म अनुसार ब्राम्हण र क्षेत्रिय बाहेकले धनुर्विद्या पढ्न नपाउने हुन्छ । त्यही भएर एकलव्यले गुरु द्रोणाचार्यसँग प्रत्यक्ष सिक्न पाउँदैनन् र गुरु द्रोणाचार्यको प्रतिमा बनाएर एकलव्यले गुरु मान्छन् । गुरुले आफ्ना शिष्यलाई सिकाएको विद्यालाई टाढैबाट लुकी लुकी हेरेर आफ्नै अभ्यासमा धनुर्विद्यामा पारंगत पनि हुन्छन् । तर ती एकलव्यको आफ्नो मेहनतलाई गुरु द्रोणाचार्यले गुरु दक्षिणाको रुपमा अंगुठा मागेको कुराले भने मेरो चित्त बुझेको छैन । त्यस्ता महान आदरणीय गुरु द्रोणले एकलव्यको त्यो संघर्ष र परिश्रमलाई किन निस्फल तुल्याएका होलान्, मैले अझै पनि बुझ्न सकेको छैन ।
मनोज्ञ विष्ट
कक्षा ६
ऐश्वर्य विद्या निकेतन, धनगढी, कैलाली

प्रतिक्रिया दिनुस