दिपकराज भट्ट ,डडेल्धुरा असार ११। भागेश्वर गाउँपालिकाको छैटौं गाउँ सभा अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।सोमबार देखि सुरु भएको आर्थिक वर्ष २०७७÷०७८ का लागि ३७करोड ५४ लाख ७६हजार ५९० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले गाउँ सभामा बजेट प्रस्तुत गरे ।

भागेश्वर गाउँपालिकाले आर्थिक पुर्वाधार तर्फ एक करोड चालीस लाख, वन वातावरण व्यवस्थापनमा आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी शिक्षामा एक करोड पच्चीस लाख , स्वास्थ्यमा चौसठ्ठि लाख , कृषिमा सत्रि लाख सरसफाइ मा पचास लाख , खेल मैदानका लागि दस लाख ,विपत व्यवस्थापनमा एक करोड शुसासनका लागि तीन लाख , र समपुरक कोषमा दुई करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले कोरोना भाइरसका कारण विकास र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गरेर आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा गरिने बताउनुभयो ।

विकास र रोजगारी नै गाउँपालिकाको आगामी आर्थिक वर्षको प्रमुख कार्यायोजना हुनुपर्ने उल्लेख गर्दै उनले क्षमता विकास र रोजगार कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे । गाउँपालिकाले कृषि पेशालाई सभ्य र मर्यादित बनाइ मानिसलाई कृषिमा आकर्षित गर्ने नीति लिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि विकासका लागि दिगो उत्पादकत्व र रोजगारका निम्ती नीति अबलम्बन गरी अल्पकालीन, मध्यकालीन, दीर्घकालीन, ‘कृषि योजना निर्माण’ गरिने र आवश्यक बजेट विनियोजन गरिने उल्लेख छ ।

यस्तै, कृषि आधुनिकीकरणका लागि कृषि यन्त्र वितरण र उत्पादित कृषि उपजको बजारीकरण गरिने, एक वडा एक पकेटका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए । बेरोजगार युवाका लागि रोजगारीको अवसर सृजना गर्ने नीति लिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुस