धनगढी,१८ असार-सुदूरपश्चिममा धनगढी सहित २ पहाडी जिल्लामा स्थापना गर्ने भनिएका पिसीआर मेसिन अझै जडान हुन सकेको छैन।

धनगढी स्थित सेती प्रादेशिक अस्पताल तथा पहाडी जिल्ला बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला ९ल्याब० स्थापना गर्ने निर्णय गत चैत्र २५ गते गरीएपनि अझै जडान हुन नसकेका हुन्।

जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीले भने उपकरण भित्¥याउन कोठा सफाइ सहितका अन्य काम सम्पन्न गरेको जनाएको छ।

तर मेसिन बैतडी पुगे लगत्तै परीक्षणको काम सुरु गरिने जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट वसन्त राज जोशीले बताए।

‘बैतडीबाट जेठमा सङ्कलन गरेर धनगढी पठाएका ४ सय बढी स्वाबको नतिजा आउन बाँकी नै छ’ उनले भने ‘प्रयोगशाला स्थापना गर्ने विषय टुङ्गोमा लाग्न सकेको छैन, जसले अझै पनि सङ्कलित स्वाब धनगढी पठाइरहेका छौँ।’

यता डोटी बाट सङ्कलन गरीएको २६ सय स्वाब मध्ये अझै ६ सय ८२ जनाको रिपोर्ट आउन बाँकी छ। पिसीआर मेसिन जडान नहुँदा सङ्कलित स्वाबहरूको रिर्पोट आउन पनि ढिलाइ भइरहेको जिल्ला अस्पताल डोटीका मेसु डाक्टर ज्योति पाण्डले बताइन्।

‘प्रदेश सरकारले डोटीमा पनि पिसिआर मेसिन जडान गर्ने निर्णय गरे पनि त्यसयता भने कुनै आधिकारिक सूचना पाएका छैनौँ’ उनले भनिन् ‘स्वाब सङ्कलन गरेर धनगढी पठाउँदा १५ दिन सम्म पनि नतिजा आउँदैन।’

स्वाब सङ्कलन गरेको १–२ दिनमै नतिजा आउनु पर्ने भए पनि महिना दिन पुग्दा समेत परीक्षण नगरिँदा आइसोलेसनमा बसेका लाई समस्या हुने गरेको उनले बताइन्।

‘प्रयोगशाला स्थापना गर्ने विषय टुङ्गोमा लागे हाल सङ्कलन गरिएका स्वाब डोटी बाटै परीक्षण गरिए शीघ्र नतिजा आउने थियो।’ उनले भनिन्।

यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीले अझै २ हजार सङ्कलित स्वाबको नतिजा आउन बाँकी रहेको जनाएको छ।

सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्वाब ल्याउने क्रम जारी भएकाले दैनिक २ सय ५० को हाराहारीमा परीक्षण हुने भएकाले उक्त स्वाब परीक्षणमा महिना दिन भन्दा बढी लाग्न जनाइएको छ।

उपकरण जडानको विषय यकिन भए पहाडी जिल्लाका सङ्कलित स्वाब उतै परीक्षण गर्न सकिए सहजता हुने सेती प्रादेशिक जनस्वास्थ्य कार्यालयको धारणा छ।

तर स्वास्थ्य निर्देशनालयले भने ३ नयाँ उपकरण जडानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। तर समय नै तोक्न भने नमिल्ने जनाइएको छ।

उपकरण धनगढी ल्याउने क्रम जारी छ सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने, ‘तिथिमिती नै तोक्न सकिने अवस्था छैन, प्राविधिक समस्या नआए अबको केही दिनमै जडान सम्पन्न गरिने छ।’

प्रतिक्रिया दिनुस