महेन्द्रनगर साउन २३। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले अस्वभाविक विद्युत महसुल अशुल्न खोजेपछि नगरपालिका १ बाराकुण्डाका शेरुवा कामी परिवार उठिबास हुने चिन्ताले सहयोगका लागि हारगुहार गरेका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिका वडा नं। १ को वडा कार्यालयमा अस्वभाविक महसुल तिर्न नसक्ने भएकाले सहयोगका लागि निवेदन दिएका छन् ।

विद्युत प्राधिकरण केन्द्रका प्रमुख जङ्ग बहादुर चन्द सहितका कर्मचारीको मिलेमतोमा दुई पंखा र तीन बल्बको एक महिनामा झण्डै ६२ हजार महसुल आएको छ । गत फागुनसम्म महसुल बुझाएका कामीले विद्युत मिटर निकालेको दुई महिनापछि अस्वभाविक महसुल आएको हो ।

घरबाट मिटर निकाल्दा अंक रिडिङ्ग नगरेको वितरण केन्द्रले प्राधिकरणको अत्तरियास्थित प्रदेश कार्यालय पठाएर अस्वभाविक अंक मिटर देखाएका थियो । वितरण केन्द्रका प्रमुख चन्दले कामीलाई अत्तरिया पठाएका थिए ।

वितरण केन्द्रले अस्वभाविक महसुल अशल्न खोजेपछि कामी परिवार उठीबास हुने अवस्थामा पुगेको छ । कमजोर अवस्था भएकाले उठीबास हुने बाहेक अरु विकल्प नभएकाले सहयोगका लागि प्रशासन र वडा कार्यालयमा निवेदन दिएको बताए ।
‘म यति महसुल तिर्न सक्दैन, उठीबास नै हुन्छ’ उनले भने,‘कतैबाट सहयोग भएन भने उठीबास नै हुन्छ ।’

विद्युत प्राधिकरणका प्रमुख चन्दलाई पटक पटक भेट्दा समेत उनले महसुल तिर्नै बताउँदै उनलाई फर्काउने गरेका छन् ।
भीनपा १ वडा अध्यक्ष आशेफ कुँबरले अस्वभाविक महसुल छानबिन गरी पीडितलाई न्याय दिने यस अघि नै बताई सकेका छन् ।

२०७६ फागुनसम्म विद्युत महसुल तिरेका उनको घरमा घरमा २०७५ फागुनमा विद्युत जडान गरिएको थियो । चैतमा विद्युत मिटर खोल्न अघि महसुल तिरेको उनको मिटरमा एकै पटक ६ सय ८५ बाट ५५३१ युनिट खपत भएको देखाएको छ ।

दुई वर्ष अघि बैतडीको मेलौरी नगरपालिका २ बाट बाराकुण्डा आएका कामी मजदुरीको भरमा परिवार पाल्दै आएका छन् ।
विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख चन्द सहित महसुल शाखा प्रमुख सहितका कर्मचारीको मिलेमतोमा महसुलमा बदमासी गरिएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

केही दिन अघि वितरण केन्द्रका प्रमुख चन्दको कार्यकक्षमा कामी सहित पत्रकार पुगेपछि उनी दोस्रो दिन काठमाडौं हिँडेका थिए । कामी एक्लै हुँदा भने उनी कार्यकक्ष छाडेर क्वार्टर गएर बसेका थिए ।

प्रतिक्रिया दिनुस