महेन्द्रनगर ३, कार्तिक–सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –१ का स्थानीय सोमबार बिहानै उक्त सडक कालोपत्रेको माग राख्दै आन्दोलित बनेका हुन्।
पानी परेपछि हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने बङ्क–नायल सडक कालोपत्रेको माग गर्दै कृष्णपुर नगरपालिका–१ स्थानीय आन्दोलित भएका हुन्। उक्त सडक सुदूरपश्चिम प्रदेशको पहाडका जिल्ला जोड्ने छोटो मार्ग भएपनी निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीय बताउँछन्।
वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्रे तथा मर्मत हुनुपर्ने माग गर्दै सडक अवरुद्ध गरिएको स्थानीय लवदेव पन्तले बताए। सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्– उनले भने,–‘तत्काल सडकमा पानी छर्कनुका साथै सडक मर्मतको काम सुरु गर्नुपर्छ।’ सडक स्तरोन्नतिको कार्य अगाडि नबढाइए अनिश्चितकाल सम्मका लागि सडक चक्काजाम गरिने उनले चेतावनी दिए।
ठेकेदारको लापरबाहीको कारणले स्थानीयवासीले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहज रूपमा यात्रा गर्नुपरेको छ। उक्त सडक कालोपत्रेको जिम्मा सन्तोषी–थेगिम जेभीले पाएको छ। तर, निर्माण कम्पनीले अहिलेसम्म सडक निर्माणको काम सुरु गरेको छैन।
प्रतिक्रिया दिनुस