२४ कात्तिक, बझाङ– बझाङमा स्थानीयले एक स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन्। जिल्लाको बुङगल नगरपालिका वडा नम्बर ४ विजगडामा रहेको खिरातडी स्वास्थ्य चौकीलाई स्थानीयले ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार बुङगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नति भई १५ सैयाको अस्पताल हुने भए पछि आवश्यक भौतिक संरचना निमार्णका लागी जग्गा आवश्यक परेको थियो । अस्पताल निमार्णका लागी वडा नं ४ तम्तोलिका स्थानीयले जग्गा दान गरेका छन् । खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नति भई १५ सैयामा अस्पताल हुने भए पछि बुङगलवासी हर्षित भएका छन् । स्वास्थ्य चौकीको स्तरोन्नति भई १५ सैयाको अस्पताल निमार्णका लागी स्थानीय ११ जना जग्गाधनीहरूले निःशुल्क जग्गा दान गरेका छन् ।
अस्पताल निमार्णका लागी वडा नं ४ तम्तोलिका ललितप्रसाद जोशी, वसन्तराज जोशी, धनी पन्त, नन्दप्रसाद जोशी, अम्बादत्त जोशी, किस्ने पन्त, महामति जोशी, धनराज जोशी, धनिराम जोशी, सुशीला नाथ, र रघुनाथ जोशीले नि शुल्क रूपमा ८ रोपनी जग्गा दान गरेका हुन । खिरातडी स्वास्थ्य चौकीका इन्चार्ज नरेश कुँवरले स्थानीयले दिएको जग्गा खिरातडी स्वास्थ्य चौकीको नाममा पास भई सकेको बताए । उनले भने ‘स्वास्थ्य चौकीको स्तरोन्नति भई १५ सैयाको अस्पताल हुने भए पछि हामीले असोज २९ गते एक सार्वजनिक सूचना जारी गर्दै निःशुल्क जग्गा दान दिन इच्छुक भएको जग्गाधनी बाट निवेदन दिन अनुरोध गरेका थियौँ।’
अब चाँडै नै अस्पताल निमार्णको काम हुने उहाँको भनाई छ । स्वास्थ्य चौकी स्तरोन्नति हुने भए पछि बुङगल नगरपालिकाको बैठकमा विजगडा बाट स्वास्थ्य चौकी अन्यत्रै लैजानु पर्ने कुरा उठ्न थालेको थियो । धैरैले यति ठुलो मात्रामा कसैले जग्गा दान दिन नमान्ने भन्दै विजगडा बाट सार्ने प्रयास भएको थियो ।
वडा नं ४ का वडाध्यक्ष अम्मरराज जोशीले स्थानीय सँग परामर्श तथा समन्वय गरेर स्थानीयले जग्गा दान गरे पछि अस्पताल सार्ने प्रयास असफल भएको छ। विशेष गरेर बुङगल नगरपालिकाको हकमा सबैलाई पाएक पर्ने ठाउँ भनेकै विजगडा हो। ‘अस्पताल निमार्णका लागी अनेक थरी व्यवधान आए पनि हामीले सहजै पास गरेका छौ।’ बुङगल क्षेत्रको विकासका लागी अझै पनि सदैव लागी रहने जोशीको भनाई छ।
प्रतिक्रिया दिनुस