महेन्द्रनगर २४, कार्तिक–उपचार नपाएर कञ्चनपुरका एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ४ का महिला वडा सदस्य टीका देवी सुनारको आइतबार निधन भएको हो।
किड्नी सम्बन्धी समस्याले ग्रसित उनको यस अघि काठमाडौँ स्थित वीर अस्पतालमा उपचार भइरहेको थियो। वीर अस्पतालले उपचार गर्न नसकेपछि उनलाई फिर्ता गरेको थियो। गत बुधवार डायलासिसका लागि भक्तपुर डायलासिस अस्पतालमा आइसियुमा राखेर पनि उपचार गरिएको थियो। तर त्यहाँ पनि उनको उपचार सम्भव भएन। आइसियुका लागि काठमाडौँ मेडिकल कलेज लगिएकामा उपचार सम्भव नभएको भन्दै फिर्ता पठाइएको थियो।
त्यहाँबाट कोहलपुर अस्पतालमा पनि आइसियु नपाई धनगढी ल्याइएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। धनगढीको निसर्ग हस्पिटलमा ल्याइएकी उनलाई उपचार सम्भव नदेखिएपछि हस्पिटलले घर फिर्ता गरेको हो।
आइतबार वडा सदस्य सुनारको मृत्यु भएको प्रहरी निरीक्षक विष्टले बताए।
प्रतिक्रिया दिनुस