बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ। अहिलेसम्म आफन्तको हुलीयाका आधारमा शव पहिचान गरीएको बैतडी प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन्। यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्की, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा र दार्चुलाकै तर्कराज गिरीकको पनि सनाखत भएको हो। मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला छन्। मृतकमध्ये १ जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको र अन्यको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइते ३४ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ। सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए। बसका चालक र सहचालक दुवै घाइते छन्। बसमा ४० भन्दा बढी यात्रु सवार रहेका थिए।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस  बिहीबार राति दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुस