बैतडीमा बिहीबार राती भएको पवनदुत यातायातको बस दुर्घटनामा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक वीरेन्द्र कार्कीलाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले चालक कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए। नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दा अन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो। सो दुर्घटनामा बैतडीका ३, दार्चुला, कैलाली र कञ्चनपुरका २÷२ जना गरेर ९ जनाको ज्यान गएको थियो। दुर्घटनामा घाइते भएकाहरू मध्ये ११ जनाको धनगढीमा उपचार भइरहेको छ भने २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुस