कोरोना संक्रमण तथा जोखिमलाई मध्यनजर गर्दै यस वर्ष सुदूरपश्चिम प्रदेशको तराईका बासिन्दाले सामूहिक रुपमा छठ मनाउन नपाउने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामूहिक रुपमा भेला भइ छठ पर्व मनाउन रोक लगाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

‘कोरोना संक्रमणको जोखिमका कारण नदी तथा पोखरीमा सामूहिक जमघट हुन रोक लगाएका छौँ’ वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने, ‘घरमै सुरक्षित रहेर छठ पर्व मनाउन आग्रह गरिएको छ ।’

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधि साथ छठ पर्व मनाउने गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिमा दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ्य दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमले ब्रतालुले घर आँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ।

प्रतिक्रिया दिनुस