अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जना मारिएका छन् । ३१ जना घाइते छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला भएको थियो । ग्रीन जोन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगका कार्यालय भएको क्षेत्र हो ।

शनिबार बहिान स्थानीय समय अनुसार ९ बजे उक्त आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन् ।

तारिकका अनुसार जहाँ २३ वठा रकेट हानिएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर छ । घटनापछि स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरुको भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् ।

पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ ।

यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ । सरकारले भने यस्ता प्रकृतिका आक्रमणमा तालिबान समूहलाई आरोप लगाउने गरेको छ । त्यसो त, यसअघि पनि दूतावास क्षेत्रमा पटक पटक रकेट आक्रमण भएका थिए ।

प्रतिक्रिया दिनुस