शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समिति डडेल्धुराले शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी गरेको छ। तलब निकासाको माग राख्दै समितिले आइतबार शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय डडेल्धुरामा तालाबन्दी गरेको हो।
चालु आर्थिक वर्षको अनुदान तर्फका शिक्षकको तलब निकासा अझै नगरिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी गरिएको शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिका संयोजक केशव बहादुर महराले जानकारी दिए।
No description available.
कोरोना कहरका कारण शैक्षिक क्षेत्र सङ्कटमा परेको बेला सरकारले शिक्षण सिकाई सहयोग अनुदानको रकम अड्काएर अङ्ग्रेजी, गणित, विज्ञान लगायत मूल विषयका शिक्षकहरूलाई अन्योलमा राखी विद्यार्थीहरूको भविष्यमाथि नै खेडवाड गरिएको उनले बताए। यस अघि तलब निकासाका लागी सम्बन्धित स्थानीय पालिकाहरू, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गरीएपनी कुनै सुनुवाइ नभएको अनुदान शिक्षकले गुनासो गरेका छन्।
विगत ८ महिना देखीको तलब निकासाको माग गर्दे आइतबार शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय डडेल्धुरामा उनीहरूले तालाबन्दी गरेका हुन्।
आइतबार शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक समितिले समन्वय इकाईमा तालाबन्दी गर्दे जारी गरेको विज्ञप्तिमा शैक्षिक सत्र २०७७ भरीको तलब भत्ता उपलब्ध गराइनुपर्ने, शिक्षण सिकाई सहयोग अनुदानमा विगतदेखि कार्यरत शिक्षकहरूलाई नै निरन्तरता दिइनुपर्ने, दरबन्दी मिलान वा अन्य बहानामा शिक्षकहरूलाई विस्थापित गर्न नहुने, शिक्षण सिकाई  अनुदान कार्यक्रम अन्तगत कार्यरत शिक्षकहरूलाई पनि अन्य शिक्षक सरह सरकारले तोके बमोजिमको सेवा सुविधा प्रदान गरिनुपर्ने लगायतका मागहरू राखिएको छ।
आफ्ना मागहरू बेवास्ता गरिए आन्दोलनमा उत्रिने समेत शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समिति डडेल्धुराले चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुस