दार्चुला-नेपाल–भारत जोड्ने खलङ्गा नाका नौ घण्टाका लागि खोलिएको छ। भारतको बाटो भएर खलङ्गा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले सहमति जनाएपछि सीमा नाका खोलिएको हो।

यसअघि नै मंसिर ३ गते सीतापुल नाका खोल्न र मंगलबार सदरमुकाम खलङ्गाको नाका खोल्न नेपाली प्रशासनले भारतीय प्रशासनलाई अनुरोध गरेको थियो। सोही अनुसार भारतीय प्रशासनले सहमति जनाएको हो। सीमा नाका खोलिएसंगै भारतमा किनमेल गर्नेहरु नेपालीहरुका लागि मौका जुरेको छ।

खाद्यान्न चामल, पिठो, चिनी, साबुन सस्तो पर्ने गरेको छ। मसिनो चामलको मूल्य भारतमा ६४ रुपैयाँ नेपाली र नेपाली बजार क्षेत्रमा मसिनो चामलको मूल्य ७० देखि ७५ रुपैयाँ पर्ने गरेको छ। भारतीय बजार क्षेत्रमा सबैभन्दा चिनी सस्तो पर्ने गरेको छ । भारतीय बजार क्षेत्रमा चिनीको मूल्य ४० रुपैयाँ भारु अर्थात् ६४ रुपैयाँ नेपाली पर्ने गरेको छ। नेपाली बजारमा भने चिनीको मूल्य सय रुपैयाँ कायम गरिएको छ। तरकारीमध्ये प्याज पनि भारतमा सस्तो पर्ने गरेको छ।

प्याज भारतीय बजार क्षेत्रमा ८० रुपैयाँ भारु अर्थात् १ सय ३० रुपैयाँ नेपाली पर्ने गरेको छ। तर नेपाली बजार क्षेत्रमा एक किलो प्याजको मूल्य २ सय पर्ने गरेको छ । यसले गर्दा पनि नेपाली सर्वसाधारणहरुदेखि व्यापारीहरु भारतमा किनमेल गर्न जाने गरेका छन्। सीमा नाका खोलिएसंगै नेपाली बजारमा पनि किनमेल गर्ने भारतीयहरुको संख्या बढेको छ। सीमा नाका बन्द रहेको अवस्थामा भन्दा आज बढी व्यापार भएको नेपाली व्यापारीहरुको भनाई छ।

प्रतिक्रिया दिनुस