सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै साढे ५ सय जनाको परीक्षण गर्दा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनाको परीक्षण गर्दा थप ७४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय १४ जनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको उनले बताए। यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा ८० जनाको परीक्षण गर्दा १७ जना, जिल्ला अस्पताल बैतडी प्रयोगशलामा ८३ जनाको परीक्षण गर्दा १३ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ४३ जनाको परीक्षण गर्दा ७ जना र जिल्ला अस्पताल डोटीमा १४ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, बेदकोट नगरपालिकाका ४ जना, पुनर्वास नगरपालिकाका २ जना, बेलडाँडी गाउँपालिकामा १ र बझाङको सुर्मा गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको बताए।

उनले कैलालीको धनगढी उपमहानगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको पनि बताए। उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, त्यस्तै वडा नम्बर २, ३, ५, ८ र वडा नखुलेका १र१ जनामा संक्रमण देखिएको छ। कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ४ जना, त्यस्तै घोडाघोडी नगरपालिका र कैलाली गाउँपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार २ सय ९५ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार १ सय ३८ जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुस