बैतडीका दुई ओटा प्रसिद्ध भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर र सुर्नया गाउँपालिका रौलेश्वरस्थित फाल्ङासैनी भगवती मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको हो। यी दुवै शक्तिपीठहरुमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ।
स्थानीय प्रशासनले कोरोना भाइरसको जोखिमका कारण मेला पर्वमा रोक लगाएको भए पनि स्थानीयहरूले सांस्कृतिक परम्परा नछोड्ने भन्दै बलिसहित जात्रा मनाएका हुन्।
हरेक वर्ष बलिसहित जात्रा हुने भएकाले भाकल गरेकाहरूले जात्रा राँगा र बोकाको बलि गरेका छन्। मेलौली भगवती मन्दिरमा ७१ राँगाको बलि गरिएको छ भने फाल्ङासैनी भगवती मन्दिरमा ८ राँगाको बलि गरिएको स्थानीयहरूले बताएका छन्। कोरोना भाइरसको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासन र स्थानीय तहहरूले मेला पर्वमा रोक लगाएको भए पनि स्थानीयहरूले जात्रा मनाएका हुन्। जात्रा तथा मेलामा हुने भिडभाडले कोरोनाको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्।
नगरपालिकाले नित्य पूजा बाहेक अन्य भिडभाड नगर्न आग्रह गरेको भए पनि भाकल गरेकाहरूले राँगाको बलि गरेको नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। उनले भने,–‘हामीले मेला पर्वमा रोक लगाउन बजार समेत बन्द गरेका थियौँ । तर भाकल गरेकाहरूले बलि गर्ने भनेपछि रोक्न सकिएन।’ बैतडी सहित सुदूरका पहाडी जिल्लाहरूमा प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षमा विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा मेला लाग्ने गर्दछ। अरू वर्षको जस्तो मेलामा रौनक भने नभएको स्थानीयहरूले बताएका छन्।
मन्दिर तथा शक्तिपीठहरुमा लाग्ने मेलामा स्वदेशका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेकोमा यो वर्ष कोरोना कहरका कारण बाहिरका दर्श नार्थी भने आउन पाएनन्।
प्रतिक्रिया दिनुस