कैलालीमा गरिएको परीक्षणमा एकै आर्थिक वर्षमा १५२ जना एचआइभी एड्सका नयाँ बिरामी फेला परेका छन्। गत आर्थिक वर्षमा छ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन । पुष्टि भएका नयाँ संक्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला ५५, ट्रान्स जेन्डर ३८, बालबालिका चार जना रहेका छन्।
संक्रमण पुष्टि भएका उनीहरु विभिन्न जिल्लाका रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ। सो कार्यालयका अनुसार फेला परेका नयाँ सङ्क्रमितमा कैलालीका ११०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेल्धुराका दुई÷दुई, दार्चुला र भारतका एक÷एक जना रहेका छन्।
यसैबीच, प्राणघातक एचआइभी एड्स रोगबाट गत आर्थिक वर्षमा ३५ जनाको ज्यान गएको छ। कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा ज्यान गुमाएका हुन। जसमध्ये छ जना सोही आर्थिक वर्षमा फेला परेका नयाँ सङ्क्रमित थिए। मृत्यु हुनेमा बाँकी पहिल्यै एचआइभी पुष्टि भएका विरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए।
डिसेम्बर १ तारेखका दिन मनाइने विश्व एड्स दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने सो कार्यालयले जनाएको छ।