पार्टी टुटफुट र विभाजनले माओवादी आन्दोलनमा समस्या देखिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र) ले विचार सिद्धान्तमा एकरूपताका आधारमा सुढृण कार्यगत एकतासँग पार्टी एकता तथा वृहत् ध्रुवीकरणको प्रक्रियामा जोड दिएको छ। पार्टीको केन्द्रीय समिति बैठक तथा विशेष राष्ट्रिय भेला हालै सम्पन्न गरेको माओवादी केन्द्रले पछिल्लो समय देशव्यापी रूपमा वैचारिक एकताका आधारमा विभिन्न राजनीतिक दलहरूसँग सुढृण कार्यगत एकताको लागी छलफल तथा एकीकरण र ध्रुवीकरणको प्रक्रियामा विशेष जोड दिएको हो।
माओवादी केन्द्रको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष कर्ण जीत बुढाथोकी सूशीलले अहिलेको मुख्य आवश्यकता भनेको विभिन्न ढङ्गले विकेन्द्रित हुन पुगेका माओवादी क्रान्तिकारी शक्तिहरू बिचको सुढृण कार्यगत एकता र वैचारिक सैद्धान्तिक आधारमा पार्टी एकता र वृहत् ध्रुवीकरण भएको बताए।
माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले वर्तमान संसदीय व्यवस्थाका कारण नागरिकको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको, राष्ट्रियता, जनतन्त्रको अवस्था समस्याग्रस्त बनेको ठहर गर्दै त्यसका विरुद्ध जनन्यायकी व्यवस्था पुनर्स्थापना सबै क्रान्तिकारी, प्रगतिशील, देशभक्त जनशक्तिहरूको एकताबाट मुलुकमा बलियो माओवादी पार्टी निमार्ण गर्नुपर्ने र निर्णायक सङ्घर्षको तयारीमा जुट्नुको विकल्प नरहेको बताए।
विभिन्न क्रान्तिकारी शक्तिहरू बिचको एकताका विषयमा पछिल्लो समय माओवादी केन्द्रले विभिन्न राजनीतिक दल, वामपन्थी अगुवाहरू, राजनीतिक विश्लेषक, पत्रकार, लेखक, बुद्धिजीवी समुदायहरू सँग छलफल, बहस गर्दै आएको छ। त्यसैक्रमा सोमबार दिउँसो माओवादी केन्द्र र नेकपा (माओवादी) बिच संयुक्त बैठक बसको हो। दुई दलबिच लामो समय अघिदेखि क्रान्तिकारी पार्टीहरू बिचको सुढृण कार्यगत एकता र बलियो माओवादी पार्टी निर्माणको विषयमा छलफल गर्न संयुक्त बैठक बसेको नेताहरूको भनाई रहेको छ।
बैठकमा नेपालमा राजनीतिक पार्टीहरूको अवस्था, अवलम्बन गरेको वैचारिक राजनीतिक कार्यदिशा, राज्यको कार्यशैली र जनसमुदाय बिचको अन्तर विरोध तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू बिचको सैद्धान्तिक वैचारिक रूपमा बलियो एकताका आधारबारे घनिभूत छलफल भएको छ।
करिब चार घण्टासम्म चलेको बैठकमा दुई पार्टीबिच सुढृण कार्यगत एकताको प्रक्रिया हुँदै विचार राजनीतिमा थप छलफलसहित छिट्टै पार्टी एकताको तयारी गर्ने बारे सहभागी दुवै पार्टीका नेताहरूले आफ्नो धारणा राखेको नेताहरूको बताउँछन् ।
उक्त बैठकको छलफलका मुख्य विषयबारे प्रकाश पार्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सङ्गठन विभागका नेता नरेश शाही रक्तिमले भने–‘टुटफुट विभाजन र कतिपय राजनीतिक दलहरूको अहम्ताका कारण स्वच्छ प्रकारको कार्यगत एकताको अभ्यास हुन नसकिरहेको अवस्थामा हामीले क्रान्तिकारी शक्तिहरूबिच सुढृण कार्यगत एकता हुँदै बलियो माओवादी पार्टी निर्माणको लागि पार्टी एकता र वृहत् ध्रुवीकरणको विषयमा गम्भीर छलफल गरेका छौँ । सम्भवतः छिट्टै हामी नेपाली जनता र लाखौँ माओवादी नेता, कार्यकर्ताहरू बिच नयाँ प्रकारको उत्साह थप्ने खालको सन्देश दिनेछौँ । हामी बलियो माओवादी पार्टी निर्माणको प्रक्रियामा जुट्न सबैमा हार्दिक आह्वान गर्दछौ ।’
माओवादी केन्द्रका नेता शाहीले दुई दलबिचको आजको बैठक कार्यगत एकता हुँदै बलियो माओवादी पार्टी निर्माणको प्रक्रिया अघि बढ्ने विषयमा सहमति सहित सकिएको बताए । उनले छिट्टै पार्टी एकताको नयाँ सन्देश दिने विषयमा सङ्केत समेत गरे ।
दुई पार्टीबिच भएको बैठक र त्यसले गरेका महत्त्वपूर्ण निर्णयहरू संयुक्त वक्तव्य मार्फत समेत सार्वजनिक गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कर्ण जीत बुढाथोकी सुशील र नेकपा (माओवादी) का संयोजक विमल अधिकारीको संयुक्त हस्ताक्षरमा उक्त वक्तव्य सार्वजनिक गरिएको छ ।
उक्त वक्तव्यमा दुई दलबिच राष्ट्रियता, जनतन्त्र र जनजीवीकासँग सम्बन्धित समस्याहरू र त्यसका विरुद्ध सडक आन्दोलनको तयारीका विषयमा छलफल भएको र अहिलेको अवस्थामा सडक आन्दोलन अनिवार्य भएको उल्लेख छ ।
त्यस्तै वक्तव्यमा अगाडी भनिएको छ–‘मालेमावादको पथप्रदर्शक सिद्धान्तप्रति प्रतिबद्ध रहदैं, जनन्यायकी राज्यसत्ता ल्याउनका लागि नेपाली मौलिकतामा क्रान्तिकारी योजना निर्माणको बहस गर्दै, विकेन्द्रित भएका सबै क्रान्तिकारी शक्तिहरूबिच साम्यवादसम्म पुग्ने रणनीतिक उद्देश्यका साथ कार्यगत एकता, छलफल, बहस गर्दै, अन्त्यतः बलियो माओवादी पार्टी निर्माण गर्न र निर्णायक आन्दोलनको दिशामा अघि बढ्न सबैमा आह्वान गर्दछौ ।’
उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तिलक थापामगरको विशेष उपस्थिति रहेको थियो । बैठकमा माओवादी केन्द्रका स्थायी समिति सदस्य नरेश शाही रक्तिम, सिंहराज बिक सिर्जन, लोकराज जैसी लोकेश, अरुण घिसिङ, बलाराम पुन, प्रकाश दाहाल, पो.वि.एम जनक बिक सागर, रंगमल रोकाया र केन्द्रीय सदस्य मनराज कठायत तथा नेकपा (माओवादी) का सुजन गिरी, सन्तोष खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै माओवादी केन्द्रले हालै निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिका नेताहरूलाई स्थानीय तह, जिल्ला, प्रदेश पार्टी तथा जन वर्गीय सङ्गठन निर्माण तथा सुढृणीकरणको काममा जुट्न निर्देशन गरिसकेको छ । भेलाको स्ट्रिटका आधारमा पछिल्लो समय पार्टी सङ्गठनमा गतिशीलता आएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुस