दार्चुलाको ब्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा छुने छोटो मार्ग तिमुरबाटा हुँदै बनानी जोड्ने सडक निर्माण गर्न ब्याँस गाउँपालिकाले माग गरेको छ। ब्याँस गाउँकार्यपालिका बैठकले यो सडक निर्माणले दार्चुला–टिंकर सडकभन्दा धेरै छोटो बाटोको रूपमा व्यास गाउँपालिका पुगिने जनाएको छ।

ब्याँसका जनप्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरामार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छोटो मार्गको सडक बनाउन माग गरेका हुन्।

ब्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्टको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले छोटो दूरीको यो सडक निर्माणका लागि दबाब बढाउने निर्णय गरेको छ। ‘तिमुरपाटा(तोसाराडी(बानानी बसेडी(धौलाकोट(डोकट(मडगाउँदेखि वडा–२ माल जोड्ने सडकको रूपमा यो छोटो मार्ग बन्छ’, उपाध्यक्ष भट्टले भनिन्।

अहिलेको दार्चुला(टिंकर सडक दुहुँ गाउँपालिकाको हिकिला हुँदै जाने हुँदा लामो भएकाले छोटो मार्गको रूपमा सडक बनाउन आग्रह गरिएको उनले बताइन्।

सामरिक महत्त्वको व्यास गाउँपालिका क्षेत्रका जनता अहिलेसम्म सडकको पहुँचमा छैनन्। व्यांँस क्षेत्रका जनतालाई यातायातसँग जोड्न प्रदेश सरकारले प्राथमिकतामा राखी विस्तृत आयोजना प्रतिवेदन बनाएर काम अघि बढाउनुपर्ने पालिकाको माग छ। अहिले प्रस्तावित सडकले व्यास गाउँपालिकाका सबै वडाका बस्ती जोड्छ। यहाँका स्थानीयले सडक पहुँचभन्दा टाढा हुँदा महाकाली नदीमा लगाइएका तुइनमार्फत सदरमुकाम खलंगा आउजाउ गर्नुपर्ने बाध्यता छ। भारतीय मार्ग हुँदै खलंगा आउनुपर्ने बाध्यता अन्त्य गर्न छोटो मार्गको सडक बनाउन व्यासका जनप्रतिनिधिको माग छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा जोड्ने सबैभन्दा छोटो दूरीको यो सडक राष्ट्रियता र सीमा सुरक्षाका दृष्टिले समेत महत्त्व राख्ने भएकाले निर्माणमा प्रदेश सरकारले ढिलाइ गर्न नहुने उपाध्यक्ष भट्ट बताउँछिन्। विगतमा यो सडक निर्माण प्रक्रिया अघि बढे पनि प्रदेश सरकारले गौरवको योजनामा नसमेट्दा ढिलाइ भएको हो।

सडक निर्माण गरिँदा दुहुँ क्षेत्रका जग्गाधनीले मुआब्जा माग्दै विवाद गरेका थिए। प्रस्तावित क्षेत्रबाट सडक निर्माण गर्न नदिएका दुहुँबासीले व्यास जोड्न श्रीवगडदेखि महाकाली किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुस