बैतडीमा अनौठो शिशुको जन्म भएको छ। जिल्लाको सुर्नया गाउँपालिकाको–५ मडकी २१ वर्षीया गिता विकले अनौठो शिशु (छोरा)को जन्म दिएकी हुन्। उनले पहिलो सन्तानको रुपमा मलद्धार, नाक र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।
समय पुगेपछि ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था सामान्य रहेको छ। उनले भने,“ बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन्, शिशुले दुध चुस्न सकेको छैन्, चम्चाले दुध खुवाइरहेका छन्।”सोमबार बेलुका जन्मिएको शिशुलाई स्वास्थ्यचौकीले उपचारका लागि धनगढी रेफर गरे पनि आमा र शिशु घर फर्किएको बताइएको छ।
आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। तर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनेपछि उपचारका लागि बाहिर लैजान नमानेको बताए। बच्चा जन्माउने प्रक्रियामै समस्या भएर यस्तै बच्चा जन्मिएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए।
यसका साथै गर्भपतन गराउने औषधि वा अन्य कुनै औषधी साईड इफेक्टका कारण र गर्भवती अवस्थामा भारी काम गरे कहिलेकाही यस्ता अनौठो बच्चा जन्मिने अनुमान गरिएको छ।