फाइल।

कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई मूर्त रुप दिन स्वास्थ्यकर्मी परिचालन गरेको हो । गत वर्ष भने चैतमा तथ्याङ्क सङ्कलनको काम गर्ने योजना बनाएको नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणका कारण काम गर्न सकेन। यो अवधिमा बाहिरबाट बसाइँ सरी आउने र कोरोनाकै कारण पनि खोप लगाउन खोप केन्द्रसम्म मानिस नआएको हुनसक्ने नगरपालिकाले जनाएको छ । पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले ४० स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्यकर्मीको सहयोगीका रुपमा टोल–टोलमा १२० महिला स्वयंसेवकसमेत परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । तथ्याङ्क सङ्कलन गर्ने टोलीले नगरपालिकाका सबै घरको पूरा जनसङ्ख्यासहितकोे कुन उमेरको भन्नेसमेत फारममा उल्लेख गर्नुपर्ने छ । त्यस्ले नगरपालिकाको पछिल्लो जनसङ्ख्याको विवरणसमेत थाहा हुने स्वास्थ्य शाखा प्रमुख रावलले बताए । “स्वास्थ्यकर्मीले ल्याएको तथ्याङ्कलाई नगरस्तरीय खोप समन्वय समितिमा बुझाउँछौँ, कोही बालबालिका खोपबाट छुटेको भए उनीहरुलाई खोप दिने काम गर्छौ”, रावलले भने, “पुनः हामी तीनवटा वडाको ६० घरधुरीको तथ्याङ्क लिन्छौ र पहिलेको तथ्याङ्क ठिक भए वडाहुँदै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गर्छौं, नभए पुनः तथ्याङ्क जाँच गर्छौ ।”

 

प्रतिक्रिया दिनुस