भारतसंग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने भएका हुन्।

सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहका अनुसार सीमा क्षेत्रमा हुन सक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिती बढाउँदै लगेको हो।

यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ। जिल्लाको झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिईरहेको छ।

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखन लगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिती बढाउँदै लगेको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले बताए। सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिती पछि सीमा क्षेत्रमा हुने विभिन्न खालका आपराधिक गतिविधिमा कमी आएको सशस्त्र प्रहरीको दाबी रहेको छ । बैतडीको भारतसंग ६१ किलोमिटर सीमा जोडिएको छ।

प्रतिक्रिया दिनुस