महेन्द्रनगरमा एक वडा सदस्यमाथि साङ्घातिक आक्रमण गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्तनगरपालिका –३ का वडा सदस्य रमेश चौधरीमाथि गत पुष १० गतेको साझा पूर्व रिसिभी साध्न ८ जनाको समूहले कुटपिट गरेको थियो।
कुटपिटमा संलग्न भीमदत्तनगरपालिका –३ का २१ वर्षीय गौरव चन्द, वडा नम्बर १८ का २२ वर्षीय आभास भन्ने दिनेश चन्द, वडा नम्बर ११ का प्रज्वल खड्का, वडा नम्बर ७ का २३ वर्षीय नीरज विष्ट, कृष्णपुर नगरपालिका –१ का २० वर्षीय नरेन्द्र साउद, बेतकोट नगरपालिका –८ का १८ वर्षीय नीरज खडायत पक्राउ परेका हुन्।
वडा नम्बर १८ का २० वर्षीय बल्छी भन्ने मिलन चन्द र वडा नम्बर ७ का अन्ताजि २२ वर्षीय गौतम विष्ट भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए। उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई नियन्त्रणमा राखिएको उनले बताए। फरार अभियुक्तहरूको खोजीभइरहेको प्रहरीले जनाएको छ।