प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएकाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको बताएका छन्। आइतबार राजधानीमा आयोजित भेलामा युवा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।

‘कार्यकारी भन्ने मैले दिएको थिएँ। कार्यकारी हुँदा अन्त्यन्तै उपद्रो मच्चाउनुभयो। त्यो मैले हटाइदिएको छु। अध्यक्षको पद अझै पनि राखेकै छौँ आउनुहोस्’ प्रचण्डलाई लक्षित गर्दै ओलीले भने। उनले वरिष्ठ नेताको पदसमेत कायमै राखेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाईसमेत पार्टीमा आउन आग्रह गरे।

‘वरिष्ठ नेताको पद पनि कायमै राखेको छु आउँनुहोस्’, उनले भने। सोही प्रसंगमा ओलीले दुर्गन्ध फैलाएकाले प्रवक्ता श्रेष्ठलाई हटाएको बताएका हुन्। ‘प्रवक्ता भनेर तोक दिएको थियो। प्रवक्ताले साह्रै बढी छ्यासछ्यास गरेर दुर्गन्ध फैलाउने काम गरिराख्नुभयो’, ओलीले भने, ‘प्रवक्तालाई हटाइएको छ तर सचिवालय सदस्य कायमै राखिएको छ।’

प्रतिक्रिया दिनुस