कैलालीको ‘चिडिया ताल’ ओझेलमा परेको छ। १४ वटा स साना तालहरूले सुन्दरता भरेको चिडिया तालको पर्यटन विकासको अथाह सम्भावना भए पनि यसको विकासमा कसैले चासो नदिँदा ओझेलमा पर्दे गएको स्थानीय बताउँछन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ र २ मा करिब १ सय २७ हेक्टर क्षेत्रफलमा फैलिएको चिडिया ताल जलचर, थल चर, जीवजन्तु र चराचुरुङ्गीको प्रमुख वासस्थानको रूपमा पनि परिचित छ।
राम सार सूचिमा सूचीकृत घोडाघोडी तालको परिपूरक तालको रूपमा रहेको सो ताल सिमसार तथा जैविक विविधताका हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ। परापूर्व काल देखिको पौराणिक महत्त्व र प्राकृतिक सुन्दरता बोकेको जलमग्न, सिमसार क्षेत्र र एकान्त मनोरम वातावरण भएकै कारण चिडिया ताल पर्यटन विकासका लागि योग्य ठहरिएको हो। सिमसार, वन्यजन्तुको वासस्थान तथा वनस्पति समेत प्रशस्त मात्रामा पाइने भएकाले यस ताल क्षेत्रको विकास गर्न आवश्यक रहेको स्थानीय चक्र विष्ट बताए। घोडाघोडी तालले सबैको ध्यान केन्द्रित गरेकाले पनि यस तालमा सरकार तथा सरकारवालाहरुको नजर पर्न नसकेको देखिन्छ।
घोडाघोडीको पहिचान सँगै पर्यटन र स्थानीयहरूको आयआर्जन वृद्धिमा ठुलो सम्भावना बोकेको ताललाई व्यवस्थित गर्न तीनै तहका सरकारले बेवास्ता गर्ने गरेको र घोडाघोडी ताललाई मात्र बढी महत्त्वमा राख्ने गरेकाले पनि चिडिया ताल ओझेलमा परेको अर्का स्थानीय सनेश शाहीको भनाई छ। घोडाघोडी नगर सरकारले समग्र घोडाघोडीको पर्यटन विकासका लागि पर्यटन विकास बोर्ड गठन गरी गुरुयोजना निर्माणको कामलाई अघि बढाएको छ। तर निर्माणाधीन गुरुयोजनामा घोडाघोडी ताल मात्रै समावेश हुने होकी भन्ने स्थानीयको आशङ्का छ। यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले भने घोडाघोडीमा पर्यटकीय सम्भावना बोकेका सबै तालहरूको विकास र व्यवस्थापनमा लागि परेको बताए।
नगर सरकारले नगरका कुनै पनि ताललाई उपेक्षा गर्ने गरी काम नगरेको र चिडिया तालको विकासका लागि समेत योजना निर्माण भइरहेको उहाँको भनाई छ। उसो त घोडाघोडी नगरपालिका तालैतालको नगरका रूपमा पनि परिचित छ। अनुमानित ३० बढी तालहरू रहेको घोडाघोडीमा पर्यटकीय सम्भावना बोकेका तालहरूको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सके सो क्षेत्रको पहिचान सँगै विकासमा समेत टेवा पुग्ने देखिन्छ।
प्रतिक्रिया दिनुस