सुरक्षित आवास र निःशुल्क जग्गा उपलब्ध हुनुपर्ने माग राख्दै वादी महिलाहरूले कैलालीको गोदावरी नगरपालिका कार्यालय घेराउ गरेका छन्। घुमन्ते, मगन्ते, भूमिहीन वादी अधिकार सङ्घर्ष समिति, वादी उत्थान समिति, राष्ट्रिय वादी अधिकार सङ्घर्ष समिति र पार्वती वादी अधिकार सङ्घर्ष समितिमा आबद्ध वादी महिलाहरूले नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कार्यालय घेराउ गरेका हुन।

उनीहरूले २०६५ पौष २३ गते बसेको मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गरी दलित (वादी) लाई सुरक्षित आवास तथा जग्गा प्रदान गर्न माग गरेका थिए। घुमन्ते, मगन्ते, भूमिहीन वादी अधिकार सङ्घर्ष समितिकी अध्यक्ष मिठु बादीले वादीहरूलाई राज्यले गाँस, वास र कपासको व्यवस्था गर्र्नुपर्ने बताइन। उनले आफूहरू जहाँ बसेका छौ त्यही बस्न पाउनु पर्ने बताइन्।

आन्दोलनमा सहभागी गीता देवी वादीले अहिले सडकको किनारामा बसेको भए पनि सामुदायिक वनको क्षेत्र भनेर गाउँबाट लखेट्ने प्रयास गरिरहेको बताइन्। आफूहरूको उचित बसोबासको व्यवस्थापन गरिनुपर्ने माग उनले गरिन्। आन्दोलनमा सरिक कमला बादीले आफूहरूलाई तत्काल लालपुर्जा दिइनुपर्ने बताइन्। उनले हाल मालिका टोलमा ५० परिवार वादी परिवार बसोबास गरिरहेको बताइन्।

प्रतिक्रिया दिनुस