बैतडीको सत बाँझमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सेवाग्राही मारमा परेका छन्। गएको चार दिनदेखि टावरले काम गर्न छोडेपछि टेलिकमको जीएसएम मोबाइल प्रयोगकर्ताहरूलाई समस्या भएको छ।

टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयहरूलाई सञ्चारमा निकै बाधा पुगेको सुर्नया गाउँपालिका -२ का धुव्रबहादुर चन्दले जानकारी दिए। सत बाँझमा रहेको टेलिकमको टावरले सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चाेडी नगरपालिका लगायत क्षेत्रका नागरिकलाई सञ्चारमा पहुँच पुर्याईरहेको छ।

तर पछिल्लो ४ दिनयता सेवा आंशिक रूपमा अवरुद्ध भएको स्थानीयहरूले बताएका छन्। नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले टावरमा केही प्राविधिक समस्या आएको बताए। ‘एक दुई दिनभित्रै समस्या समाधान हुन्छ।’ उनले भने–‘टावरमा समस्या आएको बारेमा सम्बन्धित निकायमा खबर भइसकेको छ।’ नेपाल टेलिकमका टावरमा आउने समस्याहरूलाई हुवाई कम्पनी मर्मत गर्दै आइरहेको छ। अबको एक दुई दिनभित्रै टावरमा देखिएको समस्या समाधान हुने नेपाल टेलिकम बैतडीका प्रमुख कार्कीले बताए।

प्रतिक्रिया दिनुस