पुनर्वास नगरपालिकामा अव्यवस्थित बसोबास गरिरहेका, सुकुम्बासी तथा आरक्ष विस्थापितहरू जग्गा स्वामित्व माग गर्दै आन्दोलित भएका छन्। उनीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाउनुपर्ने माग अघि सार्दै नगरपालिका घेराउदेखि तालाबन्दीसम्म गरेका हुन्। एक साता अघिदेखि आन्दोलनमा उत्रिएका अव्यवस्थित बसोवासीहरूले आइतबार नगरपालिका कार्यालयमा ६ घण्टासम्म घेराउ र तालाबन्दी गरे।

पटक–पटक नगरप्रमुख समक्ष माग राख्दा समेत सुनुवाई नभएपछि तालाबन्दीमा उत्रिनु परेको सुकुम्बासी संघर्ष समितिका संयोजक जगत सायरले बताए। ‘जिल्लाका अधिकांश पालिकाले भूमिसम्बन्धी समस्या समाधान आयोगसँग अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाको स्वामित्व प्रदान गर्नगि सम्झौता गरी कार्य अगाडी बढाएका छन्’ उनले भने, ‘पुनर्वास नगरपालिकाले भने समस्या समाधान गर्न काम अघि नबढाएपछि संघर्षमा उत्रिनु परेको हो।’

चुनावी प्रतिवद्धता अनुसार जग्गाको स्वामित्व दिन नगर प्रमुखले चासो नदिएको उनले दावी गरे। नगरपालिका क्षेत्रमा बसोवास गर्ने ४ हजार बढी अव्यवस्थित बसोबासीसँग जग्गाको स्वामित्व छैन। नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउन र माग पूरा गराउन मौन जुलुस लगायतका कार्यक्रम समेत सुकुम्बासीहरूले गरेका छन्।

नगर प्रमुख जीवनराज थापाले प्रेस विज्ञप्ति जारी गर्दै सुकुम्बासी समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएका छन्। ‘सुकुम्बासी समस्या समाधान संघर्ष समितिका पदाधिकारीको उपस्थितिमा कार्यसूची तयार गरी समस्या समाधानका लागि तत्काल कार्य अगाडी बढाउन कार्यपालिकाको बैठक बसी सुकुम्बासीको लगत संकलन सम्बन्धी खर्चका लागि निर्णय गर्ने र पुस २ गतेदेखि लगतसम्बन्धी कार्य गरिने छ’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘संघर्ष समितिको प्रतिनिधित्व गराई लगत संकलन सम्झौता गर्न आयोगसँग समन्वय गरिनेछ।’

प्रतिक्रिया दिनुस