बैतडीमा जनस्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्न तयारी अगाडी बढाइएको छ। प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले सो केन्द्र स्थापनाको तयारी अघि बढाएको हो। चालु आर्थिक वर्षदेखि नियमित रूपमा सञ्चालन गर्ने गरी केन्द्र स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
स्वास्थ्य कार्यालय मातहत रहने गरी सो केन्द्र सञ्चालनको तयारी भएको हो। स्वास्थ्य बानी व्यवहारको प्रवर्धन गर्ने, योगाभ्यास सिकाउने, खेलकुदका गतिविधि सञ्चालन गर्ने,संयुक्त बजार अनुगमन गर्ने लगायतका उद्देश्य राखेर केन्द्र स्थापना हुन लागेको हो। स्वस्थ जीवनशैलीका लागि स्वास्थ्यकर बानी व्यवहार अपनाउन आवश्यक भएकाले त्यस्ता बानी व्यवहारको बारेमा केन्द्र मार्फत जानकारी प्रदान गरिने छ। यस्तै विभिन्न ठाउँमा योग शिविरको समेत आयोजना गर्ने बताइएको छ।
संयुक्त बजार अनुगमन समितिले गर्दै आएको बजार अनुगमन कार्यमा पनि केन्द्रबाटै प्रतिनिधि खटाइने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। जनस्वास्थ्य प्रवर्द्धन केन्द्रमा एक जना हेल्थ असिस्टेन्ट, एक जना अन्मी र एक जना प्रयोगशालाकर्मी खटाइने छ। यसका लागि आवश्यक जनशक्ति माग गरिसकिएको स्वास्थ्य प्रमुख भट्टले बताए।
प्रतिक्रिया दिनुस