डडेल्धुराको अमरगढी नगरपालिका–९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव छ। स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा बिरामीहरूलाई समस्या भएको छ।स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नु परेको छ।

खानेपानीको अभावमा शौचालय पनि प्रयोगविहीन रहेको भूमिराज स्वास्थ्य चौकीले जनाएको छ। स्वास्थ्य चौकी निर्माण भएको लामो समय भइसके पनि खानेपानीको समस्या समाधान गर्न नसकेको सेवाग्राही लक्ष्मी सार्कीले बताइन्। उनले घाममा हिँडेर उपचार गर्न आए पनि खानेपानी पिउन नपाएको दुखेसो पोखिन्।

‘बच्चासहित यहाँ आएकी छु। तिर्खा लागेको छ तर, खानेपानी छैन। स्वास्थ्य चौकीमा काम गर्न कर्मचारीले पनि पानी पिउँन पाउँदैनन्,’ उनले भनिन्, ‘वडा र नगरपालिकासँग जसरी पनि खानेपानीको व्यवस्था मिलाइदिन माग गरेका छौँ।’ स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरीको सरसफाई र अन्य कुराका लागि पानीको जोहो गर्न अन्य गाउँ तथा खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज श्याम बोहराले बताए।

स्वास्थ्य चौकीमा खानेपानीको समस्यालाई मध्यनजर गर्दै खानेपानी पु¥याउने प्रयास गरे पनि सम्भव नभएको वडाअध्यक्ष भीम रोकायाले बताए। उनले वडाबाट स्वास्थ्य चौकीमा खानेपानीका लागि पाँच लाख बजेट विनियोजन गरेको समेत बताए। ‘खानेपानीको मुल खोजिरहेका छौँ। मुल नजिकका गाउँले पानी दिन मानिरहेका छैनन्,’ उनले भने, ‘साना सहरी आयोजना डडेल्धुरालाई पनि निवेदन दिएका छौँ। उहाँबाट पनि पानी पाउने आश्वासन पाएका छौँ। प्रयास जारी छ।’

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि भवन समेत निर्माण भइरहेको छ। खानेपानीको आपूर्ति नहुँदा सम्म बर्थिङ सेन्टर सञ्चालनमा आउन समस्या हुने स्वास्थ्य चौकीमा अनमी शान्ति भट्टले बताइन्।

प्रतिक्रिया दिनुस