विद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको ज्यादती र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ’कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो।
नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टी पङ्क्ति र श्रमिक जनतालाई निर्देशन पनि दिएका छन्। महासचिव विप्लवले ओली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता(कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात् गर्न पनि आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक ने समाप्त हुने सत्य पनि स्पष्ट पारेका छन् ।
ओली सरकारलाई चेतावनी दिँदै उनले वक्तव्यमा भनेका छन्, ’केपी सरकारले बेलेमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, २०७७ साल पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ ।
सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भर्त्सना गर्दछौँ।’ जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसन खोरी, तस्करी, राष्ट्र घातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी(खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नुले कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुस