बैतडीको देहिमाडौंमा सम्पन्न प्रथम उज्यालो टी–१० लिग (युसिएल) क्रिकेटको उपाधि निंग्लाशैनी वारियर्स ‘ए’ ले हात पारेको छ। निंग्लाशैनीले कैलपाल क्रिकेट क्लबलाई ९ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो। कैलपालले दिएको ८८ रनको लक्ष्य निंग्लाशैनीले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो। निंग्लाशैनीको जितका लागि राम चन्दले ५० रनको अर्धशतकीय पारी खेले। कैलपालका लागि सुनिल कार्कीले १ विकेट झारे।

त्यसअघि निंग्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल क्रिकेट क्लबले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसका लागि जीवन चन्दले सर्वाधिक २२ रनको योगदान गरे। निंग्लाशैनी वारियर्सका धिरज मल्लले ३ विकेट लिए। उपाधिसंगै निंग्लाशैनीले नगद २५ हजार हात पारेको छ भने उपविजेता कैलपालले १२ हजारमा चित्त बुझायो। फाइनल खेलका ‘म्यान अफ द म्याच’ निंग्लाशैनीका राम चन्द भए।

प्रतियोगिताभर व्यक्तिगत १३० रन र ६ विकेट हात पारेका राम चन्द नै म्यान अफ द सिरिज भए। प्रतियोगितामा १० विकेट हात पारेका कैलपालका वीरेन्द्र चन्द बेस्ट बलर, १४५ रन हिर्काएका निंग्लाशैनीका डम्बर बुडाल बेस्ट ब्याट्सम्यान र उदयीमान खेलाडी निंग्लाशैनी वारियर्स ‘बी’ का अंकित धामी घोषित भएका छन्। विजेता तथा उपविजेता टोलीलाई जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, दशरथचन्द नगरपालिका वडा नं २ का अध्यक्ष रनबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशीलगायतले पुरस्कार वितरण गरे।

निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी र दशरथचन्द नगरपालिका वडा नं २ को संयुक्त आयोजनामा फागुन ४ गतेदेखि सुरु भएका प्रतियोगितामा १४ टोली सहभागी रहेका थिए। बैतडीमा क्रिकेट विकासका साथै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको सञ्चालन गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका संयोजक दीपेन्द्रबहादुर बोहराले बताए।

प्रतिक्रिया दिनुस