भूमिगत भएको ४ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन्। उनी नवलपरासीमा सार्वजनिक भएका हुन्। आज काठमाडौं जाने क्रममा महासचिव विप्लव नवलपरासीमा सहिद परिवार भेटघाट गर्ने क्रममा सार्वजनिक भएका हुन्। भेटघाटपछि उनी काठमाडौ प्रस्थान गरेका छन्।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा सवार भएका हुन्। तत्कालीन नेकपा माओवादीको मुल नेतृत्वसँग विद्रोह गरेर ‘एकीकृत जनक्रान्ति’ का लागि हतियार उठाउने घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिक मार्गमा आएका छन्। सरकारले आफ्नो पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाएसँगै २ वर्षयता गुमनामझै भएका उनै विप्लव शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा रहनेछन्। सरकारसँग दुई दिनमा तीन चरणमा भएको वार्ताले सार्थकता पाउँदै सहमतिको सम्झौता भएसँगै उनी सार्वजनिक समारोहमा देखिन थालेका छन्। मुलुक राजनीतिक संकटमा रहेका बेला विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण मार्गमा आउनुलाई नागरिक समाजदेखि हरेक तप्काले स्वागत गरेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’८माधवकुमार नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई सरकारले वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको बाटोमा ल्याएको कदमको स्वागत गरेका छन्। नेपाली कांग्रेसले पनि दुबै पक्षबीच भएको तीनबुँदे सहमतिलाई सकारात्मक भनेको छ। सहमतिपत्रमा शुक्रबार हुने हस्ताक्षर कार्यक्रममार्फत उनी सार्वजनिक हुँदै छन् । विप्लव नेकपाले हिंसात्मक गतिविधि बढाएपछि सरकारले २०७५ फागुन २८ गते राजनीतिक प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुस