डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा बस्दै आएका वादी समुदायका भूमिहीन ७ परिवारका लागि घर बन्ने भएका छन्। दिपायल सिलगढी नगरपालिकाले कार्यविधी बनाएर ती ७ परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २÷२ कोठे घर पनि निर्माण गर्न लागेको हो। एक कार्यक्रमका बिच मंगलबार पहिलो घरका रुपमा पुस्कर दासको घरको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले शिलान्यास गरेकी छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमूख मलासीले आफ्नो चुनावी घोषणा पत्रको एजेण्डा, पार्टीको सरसल्लाह र संविधानमा भएको व्यवस्था बमोजिम भूमिहीन वादी समुदायका ७ घरपरिवारलाई नगरपालिकाले जग्गा खरिद गरी लालपूर्जा प्रदान गरेको बताईन् । जसका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५÷७६ को १२ लाख रकमबाट ३ घरपरिवारलाई र आ.व. २०७६÷०७७ को १२ लाख रकमबाट ४ घरपरिवारलाई गरी ७ घरपरिवारलाई जग्गा धनी लालपूर्जा वितरण गरिएको उनले बताईन् । दिपायल सिलगढी नगरपालिकाले वि.सं. २०७६ बैशाख ५ गते पुस्कर वादी, गणेश वादी र श्याम दासलाई उक्त जग्गाधनी पूर्जा प्रदान गरेको थियो भने माया वादी, भक्त बहादुर दास, तेज बहादुर दास, दिल बहादुर वादीलाई मंगलबार जग्गाधनी पूर्जा प्रदान गरेको छ ।

उक्त जग्गा विक्रिवितरण भने गर्न नपाईने गरी जग्गाधनी पूर्जा प्रदान गरिएको जनाईएको छ। दिपायल सिलगढी नगरपालिकाले उनिहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो। चालु आर्थिक वर्षको असार मसान्तभित्र ७ वटै घरहरु निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्शन कञ्चनपुरका प्रतिनिधी सुचित्र शाहले बताए । दुइ कोटे ७ घर निर्माणका लागि ४१ लाख ४९ हजार ९८ रुपैंया ७६ पैंसामा ठेक्का सम्झौता भएको शाहले बताए । साथै निर्माण कार्यको ह्याविटेट नामक सँस्थाले प्राविधिक सहयोग गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुस