सरकारले भोलि (चैत ४) गतेबाट ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएपनि सुरू गर्नेरनगर्नेमा अन्योल छाएको छ। खोप उपलब्धता सीमित भएका कारण खोप लगाउनेबारे अलमल भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले नै भोलिदेखि खोप कार्यक्रम निरन्तर हुन्छरहुँदैन भन्ने अनिश्चित रहेको बताएका छन्। योजना अनुसार तोकिएको समयमा तोकिएको मात्राको खोप नआएकाले भोलिदेखि सुरू हुने भनिएको अभियान अनिश्चित रहेको मन्त्रालयका एक अधिकारीले बताए। सरकारले यसअघि २३ फागुनदेखि नै ५५ वर्ष माथिका व्यक्तिलाई कोभिडविरुद्ध खोप दिने बताएको थियो।
त्यसबेला पनि पर्याप्त मात्रामा खोप आइनसकेको भन्दै अन्तिम समयमा उमेर हदलाई ५५ बाट बढाएर ६५ पु¥याएको थियो। भारत सरकारले अनुदानमा १० लाख डोज कोभिशील्ड उपलब्ध गराएपछि १४ माघदेखि खोप अभियान शुरू गरेको सरकारले अहिले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिँदै आएको छ। यो कार्यक्रम आजसम्म चल्ने बताइएको छ। गत माघ १४ गतेदेखि शुरू भएको अभियानको पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो चरणको खोप कहिले लगाउन पाउँछन् भन्ने पनि टुंगो लागेको छैन।
मन्त्रालयले घोषणा गरे अनुसार पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो मात्रा खोप ८ देखि १२ हप्तामा लगाउने यसअघि नै घोषणा गरेको थियो। यो अनुसार दोस्रो मात्रा खोप बैशाखको दोस्रो हप्तासम्म लगाउनुपर्ने भएपनि खोप उपलब्धता सुनिश्चितता नभए पर धकेलिनसक्ने मन्त्रालयले जनाएको छ। भारतले अनुदान स्वरुप दिएको १० लाख डोज खोपबाटै सरकारले पहिलो चरणको खोप अभियान थालेको थियो। सरकारले खरिद गरेको २० लाख डोजमध्ये १० लाख र कोभ्याक्सबाट अनुदानस्वरूप प्राप्त ३ लाख ४८ हजार डोज गरी झन्डै साढे २३ लाख डोज खोप नेपाल ल्याइसकिएको छ।