कैलाली प्रशासनले मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तोकेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीलाले सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही अगाडि बढाएको हो।

छिमेकी मुलुक भारतमा तीव्र रूपमा कोभिड संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर कैलालीमा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले बुधबार देखी जरिवाना गर्न लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। ‘विना मास्क बजारमा भेटिएकाहरूलाई समातेर एक पटकका लागि सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क वितरण गरी छोड्छौ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘यदि फेरि पनि त्यसको अटेरी गरे कारबाही गर्छौ ।’

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले पहिलो दिन धनगढीमा मास्क नलगाइ हिड्नेबाट चार हजार सात सय रुपैया जरिवाना असुल गरेको बताए।

प्रतिक्रिया दिनुस