कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कोरोनाको संक्रमण रोकथामका लागि सीमा नाका व्यवस्थित गर्न लागेको बताएका छन ।

मंगलवार शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी सहित बैतडी र दार्चुलाका भारतसंग जोडिएका सीमा नाका व्यवस्थित गर्न लागेको बताए ।

भारतबाट भित्रिने व्यक्तिहरुको स्वास्थ्य जाँचको कार्यलाई प्रभावकारी बनाउनका लागि सीमा नाकामा हेल्थ डेस्कको बलियो संचरना निर्माणमा जोड दिईने उल्लेख गर्दै उनले परीक्षणको दायरा बढाउने कार्य संगै स्वास्थ्यकर्मीको अभावलाई पूर्ति गरिने बताए । ‘यसका लागि कार्य अगाडी बढाई सकेका छौ’ उनले भने, ‘सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु संग बसेर छलफल गरि सकिएको छ ।

छिट्टै कार्य अगाडी बढाउनका लागि प्रकृया शुरु भएको छ ।’ त्रिनगर सीमा नाका अन्यको तुलनामा बढी जोखिमयुक्त भएकाले त्यसलाई व्यवस्थीत गर्नका लागि पहिलो प्राथमिकतमा राखिएको उनले बताए । त्रिनगर र गड्डाचौकीमा होल्डिङ सेन्टरको बलियो संरचना बनाउनका लागि कार्य अगाडी बढाईन लागेको उनले जानकारी दिए । प्रदेश सरकारले बजेटमा महामारी नियन्त्रण गर्नका लागि स्वास्थ्यलाई बढी जोड दिएको उनको भनाई रहेको छ ।

सीमा नाका हुदै भारतबाट फर्कनेहरु माथि निगरानी राख्ने कार्य संगै सबै जनाको कोरोना परीक्षण गरी सम्बन्धित ठाउमा पुरयाउने व्यवस्था गरिने उनले बताए । महाकाली, सेती प्रादेशिक अस्पताल र टीकापुर उप प्रादेशिक अस्पतालमा तीन सय सैया थपिएको कुरामा जोड दिदै उनले पहाडी जिल्लाका अस्पतालमा १० देखि २० सैया सम्म थप्ने कार्य भैरहेको बताए ।

‘स्वास्थ्य संस्थाका भौतिक संरचना कमजोर रहेका ठाउमा भौतिक पूर्वाधार निर्माण गर्ने कार्य समेत हुने छ’ उनले भने, ‘प्रदेश आयुर्वेद अस्पतामा एक २० शैया र गेटा मेडिकल कलेजको भवनमा दुई सय सैयाको कोभिड अस्पताल बनाई लागेका छौं।’

अस्पतालका सघन उपचार केन्द्र९आइसियु० मा ५० सैया र ५० वटा भेन्टिलेटर थप्ने योजना मन्त्रालयको रहेको उनले बताए । प्रदेशका सबै अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट जडानका लागि कार्य अगाडी बढाईएको मन्त्री खड्काले बताए ।

कोरोनाको तेश्रो लहरबाट क्षति कम हुन दिनका लागि प्रदेश सरकारले निकै सर्तकताका साथ कार्य अगाडी बढाएकाले संघीय, प्रदेस र स्थानिय तह संग साझेदारीका आधारमा कार्य अगाडी बढाउन लागेको समेत बताए ।

‘प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा सबैको पहुँचमा रहेको स्वास्थ्य संस्थामा २५ सैयाको अस्पताल निर्माण गर्ने योजना रहेको छ’ उनले भने, ‘स्थानिय तह संग सहकार्य गरी अस्पताल सञ्चालनको कार्य संग टेलिमेडिसिन सेवा समेत सञ्चालन हुन्छ ।’

कोरोना परीक्षण पछि मात्रै नगर सभामा सहभागी हुने व्यवस्था शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभामा सहभागी हुनका लागि कोरोना परीक्षणपछि मात्रै प्रवेश दिने व्यवस्था गरिएको थियो ।

नगरपालिकाले एन्टिजेनबाट नगर सभामा सहभागीहुने सदस्यहरुको परीक्षण गर्ने व्यवस्था गरेको थियो । नगर सभामा सहभागी हुने ६० जनाको एन्टीजेनबाट कोरोना परीक्षण गरिएकोमा जस मध्ये एक जना सदस्य कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।

प्रतिक्रिया दिनुस