तत्कालीन अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका दोस्रो पुस्ताका प्रभावशाली नेता हुन् उपाध्यक्ष भीम रावल। उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि स्पष्ट नखुलेर तटस्थ जस्तै देखिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीलाई मौजुदा अवस्थामा स्वीकार्न नसक्ने र नेपालले दर्ता गरेको पार्टी एमाले ९समाजवादी०मा समाहित हुन पनि नसक्ने अवस्थामा रावल छन्। रावल निकटका संघीय सांसद झपट रावल भन्छन्, ‘एमाले विभाजनका पछाडि मुख्य दोषी भनेकै केपी शर्मा ओली हुन्। त्यसैले हाम्रो चाहना वरिष्ठ नेता माधवकुमार नेपालसहितको नेकपा एमाले हो।’
उनका अनुसार उपाध्यक्ष रावल मौजुदा अवस्थामा ओलीलाई स्वीकार्न नसक्ने र नेपालले दर्ता गरेको पार्टी एमाले ९समाजवादी०मा समाहित हुन पनि नसक्ने अवस्थामा छन्।
‘न विभाजन न आत्मसमर्पणको नीति हाम्रो हो। माधव नेपालसंग जाँदा विभाजन भइहाल्छ। केपी ओलीसंगै रहँदा आत्मसमर्पण गरेर हामी बस्दैनौँ,’ उनले भने, ‘एउटा जिम्मेवारी दिएर कार्यदलको संयोजक बनाउँदै उपाध्यक्ष रावललाई पठाइएको थियो। कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा नेपालले पनि पन्छिन हुँदैन् भन्ने हाम्रो धारणा हो।’
कुनै समय अध्यक्ष ओलीको चर्को आलोचना गरिरहने उपाध्यक्ष रावल एमालेभित्र ओलीपछिको ‘दोस्रो वरियता’मा लोभिएको चर्चा पनि सेलाएको छैन। रावल निकटका एक नेताका अनुसार उनी यतिबेला ओली र नेपाल दुवैलाई साथ दिइरहेका छैनन्। उनी भन्छन्, ‘नेकपा एमालेसँग हाम्रो लडाँ होइन्। ओली प्रवृत्तिसँग आफूहरुको लडाइँ हो। त्यसैले मैदानबाट भाग्नु हुन्न भन्ने धारणा रावलको छ।’
रावलले अहिलेको बटमलाइन तत्कालीन एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनलाई बनाएका छन्।१० बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ मा फर्काउने र २०७७ फागुन २८ पछि लिइएका सबै महत्वपूर्ण निर्णय फिर्ता लिनुपर्ने उनको माग छ। बिहीबार राति मात्रै माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका रावलसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन्।
रावल निकटका प्रदेश र संघीय सांसद कता  ?
सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। सभामुख छोडेर विगतमा माधव नेपाल र रावलको पक्षमा १७ र केपी शर्मा ओलीको पक्षमा ७ जना सांसद खुलेका थिए। अहिले माधव नेपाल पक्षका १५ जना सांसद तटस्थ भएका छन्। उनीहरुले दल रोज्नका लागि कानुनी रुपमा २१ दिनको सुविधा रहेको भन्दै सोही अनुसार निर्णय गर्ने बताएका छन्।  ‘एमाले उपाध्यक्ष रावलकै कारण १५ सांसद पनि तटस्थ बसेका हुन्,’ समाचार स्रोतले भन्यो।
तर २१ दिन पूरा हुँदा सम्म पनि उपाध्यक्ष रावलले निर्णय नलिएपछि भने अधिकांश प्रदेश सांसद माधव नेपालको नयाँ पार्टीमा जाने सम्भावना बढी छ।
अहिले माधव नेपालको नयाँ पार्टीमा दुई जना प्रदेश सांसद मात्रै खुलेका छन्। यता सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने रावल निकटका सांसद पनि अहिले मौन छन्। झपट रावल, दीपकप्रकास भट्ट लगायतका आधा दर्जन सांसदले रावलको निर्णयलाई कुरिरहेका छन्।
प्रतिक्रिया दिनुस