दिनेश थपलिया
धुमधामको रोपाइँपछि
लामो खडेरीले खाएको टारीखेत जस्तै
कुर्कुच्चा, पैताला र हत्केला
आफ्नै अनुहार जस्तै खुम्चिएका
कमेज, सुरुवाल र इष्टकोट
प्रत्येक बिहान
भालेको डाकसँगै उठेर
स्नानसँगैको नित्यकर्म
शंखघण्टको आवाजले बस्ती ब्युँझाएपछि
रातको पहिलो प्रहरसम्म
निरन्तर क्रियाशील
उद्देश्य भरिएका आँखा
लक्ष्य निर्देशित पाइला
न थकानको अनुभूति
न विश्राम लिने फुर्सद
हमेसा
अनुहारमा झुल्किरहने शालीनता
सन्तानप्रतिको अगाध सम्मोहन
आफ्नो रंगहिन वर्तमान भोगेर
हत्केलामा सन्तानको रंगीन जोखाना हेर्दै
आफु औसत जीवन बाँचेर
सन्तानको संभ्रान्त अभिलाषा खोज्दै
जीवनभर
निधारमा फुलिरहने पसिनाको फूल हेरेर मख्ख
सधैँ– सौम्य, शान्त र सहिष्णु
हाम्रा बा
उस्तै– एकाग्र, जीवन्त र प्रदिप्त
हाम्रा बा !
बाल्यकालदेखि
फूलेको कपाल र चाउरिएको गालाबीच
लुकेको व्यथा
दिनरात नभनी
सन्तान सुखको अठोट बोकेर
खाली खुट्टाले लेखेको कथा,
वर्षामास
हलो र कोदालोसँग मितेरी लगाउँदै
आशाको “मानो” रोपेर
विश्वासको “मुरी” फलाउने संकल्प,
हिउँदमा
तराई, मधेस र आसामसम्म पुगेर
वर्षभरिका लागि
नूनतेल, चियाचिनी, मरमसला र लत्ताकपडाको
जोहो गर्ने जिम्मेवारी
समय समयमा चिसो छल्दै
माथि लेकतिर लम्केर
आफ्नो ज्ञान, खुबी र क्षमतासँग
राडी, पाखी, घ्यू र पैसाको सौदाबाजी गर्ने सत्कर्म
चलिरह्यो निरन्तर
वर्षाद कम हुँदा मन रुन्थ्यो झरी झैँ
वर्षाद बढी हुँदा मन सुक्थ्यो खडेरी झैँ
जे भएपनि
प्रकृतिको वरदान उर्वर माटोमा
सिर्जनाका सुन्दर सपना रोपेर
मिठो निद्रामा मस्त,
जीवन भर
निधारबाट खसेका पसिनाले बनाएको इन्द्रेणी हेरेर दङ्ग
सधैँै– उत्साही, साहसी र व्यावहारिक
हाम्रा बा !
झन् झन्– स्वावलम्बी, आत्मनिर्भर र दृढ निश्चयी
हाम्रा बा !
…
पहाड जत्रो दुःख खेप्न सक्ने आँट
हिमाल बोकेर हिँडिरहने हिम्मत
तराई जस्तै फाँटिलो विश्वास
सारङ्गी जस्तै रेटिएर आफ्नै सपनासँग
कति दिन बिते बेपरवाह
बिनाकसुर हारेर आफ्नै खुशीसँग
कति रात कटे बेहिसाब
तैपनि अविचलित
परिवारको दालभातको सम्पन्नता साट्ने आकांक्षा
चर्को घामले पोल्दा
सन्तानको भविष्यको कल्पनाले शीतलता दिन्थ्यो
वर्खे झरीले भिजाउँदा
आँखाभरिको सन्तानको तस्विरले सन्तोष मिल्थ्यो
मिठो मसिनो खाने चाहाना
चाडबाड कुरेर टर्थ्यो
राम्रो लाउने रहर
दशैँ तिहार पर्खेर बित्थ्यो
खोरीया फाँडेर जमिन आवाद गरेको दुख
पौरख फल्ने फसल हेरेर मेटिन्थ्यो
खेतबारीको डल्ला फुटाउँदा उठेको ठेला
हलोको अनौ समाउँदा विशेक भए झैँ हुन्थ्यो
जति पढे पनि नबुझिने
जति बुझे पनि नसकिने
सदैव– निर्भीक, निडर र पराक्रमी
हाम्रा बा
उत्तिकै– पुरुषार्थी, पौरखी र परिश्रमी
हाम्रा बा !
०००
इच्छा थियो होला
चरा जस्तै स्वछन्द जीवन बाँच्ने
खुल्ला आकाशमा निश्चिन्त उडान भर्ने
आकांक्षा थियो होला
स्वतन्त्रताको गीत गाएर डाँडाकाँडा चहार्ने,
सद्भावको प्रित लाएर देश देशान्तर घुम्ने
मनमा कुरा खेल्थे होलान्
नदेखेको संसार देखुँ
नलेखेको इतिहास लेखुँ
तर,
जिन्दगीको गुँडमा अभावको झरी परेपछि
कर्तव्यको आगो बल्दो रहेछ
‘बा’ हुनुको गह्रुँगो सम्बन्धको भारीले थिचेपछि
सन्तानको अभिभारा जाग्दो रहेछ
जिन्दगीका कति दोभान भेटिए
समयका कति दोसाँध टेकिए
सधैँ एकनास– समदर्शी, सहकर्मी र सहयोगी
सधैँ उस्तै– संघर्षशील, समर्पित र सामयिक
जिन्दगीको म्याराथुनमा
जितेर पनि सधैँ हारेका
हाम्रा बा !
जीवनभरि दुःखको वर्णमाला बोकेर
सबैलाई सुखद् भविष्यको पाठ पढाउने ज्युँदो इतिहास
हाम्रा बा !
(आज कुसे औँसी बुवाको मुख हेर्ने पर्वको उपलक्ष्यमा सबै हाम्रा बाहरुको सम्झनामा)